मानव आवाज

२०८२ फाल्गुन २७ गते
00: 00: 00
२०८२ फाल्गुन २७ गते

गण्डकीमा रास्वपाको वर्चस्व, कांग्रेसलाई दुई सिट, एमाले र नेकपा शून्य

पोखरा । प्रतिनिधिसभा सदस्य २०८२ मा १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा १५ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवारहरू निर्वाचित भएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसले दुई र स्वतन्त्र उमेदवारले एक क्षेत्र जितेका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले १०, नेकपा एमालेले पाँच, नेकपा माओवादीले दुई, राष्ट्रिय जनमोर्चाले एक क्षेत्र जितेका थिए ।

तर, उपनिर्वाचनमा रास्वपाले एक क्षेत्र जितेको थियो । गण्डकी प्रदेशमा एमाले, कांग्रेस तथा तत्कालीन माओवादीका प्रभावशाली नेताहरू निर्वाचित भएका थिए ।

गोरखा-२ बाट नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लम्जुङबाट एमाले नेता पृथ्वी सुब्बा गुरुङ, बागलुङबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनु भएको थियो ।

रास्वपाले १५ क्षेत्रमा जित निकाल्दै गण्डकी आफ्नो वर्चस्व बनाएको छ । रास्वपा कास्कीका तीन ओटै क्षेत्र, बागलुङ, गोरखा, स्याङजा, तनहुँ, नवलपरासी पूर्वका २/२ क्षेत्र, पर्वत, लमजुङका जित्न सफल भएको छ ।

नेपाली कांग्रेसले मनाङ र मुस्ताङ जित्न सफल भयो भने म्याग्दीमा स्वतन्त्र उमेदवार महाविर पुनले जित हात पार्नु भएको छ ।

कास्की-१ मा खडकराज पौडेल (गनेश), २ मा उत्तम पौडेल, ३ मा बिना गुरुङ, बागलुङ-१ मा सुशील खड्का, २ मा सोम शर्मा, गोरखा-१ मा सुधन गुरुङ, २ मा कविन्द्र बुर्लाकोटी, स्याङजा-१ मा डा. धनन्जय रेग्मी, २ मा झविलाल डुम्रे, नवलपरासीपूर्व-१ मा राजन गौतम, २ मा मनिष खनाल विजयी हुनु भएको छ ।

त्यसैगरी तनहुँ-१ मा स्वर्णीम वाग्ले, २ मा इन्जिनियर श्रीराम न्यौपाने, लमजुङमा धर्मराज केसी र पर्वतमा सागर भुसाल विजयी हुनु भएको छ ।

 २०७९ सालको निर्वाचनमा गण्डकी प्रदेशका १० क्षेत्रमा जित निकालेको कांग्रेसले यसपटक दुई क्षेत्रमा मात्र जित निकालेको छ ।

तनहुँ- १ बाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचनमा रास्वपाका स्वर्णीम वाग्लले जित्नु भएको थियो ।

त्यसपछि गण्डकीमा कांग्रेसको ९ क्षेत्रमा थियो । यस पटक नेपाली कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगश गौचन विजयी हुनु भएको छ ।

अघिल्लो निर्वाचनमा पाँच क्षेत्र जितेको नेकपा एमाले, दुई क्षेत्र जितेको अहिलेको नेकपा र एक क्षेत्र जितेको राष्ट्रिय जनमोर्चाले गण्डकीमा खाता खोल्न सकेनन् । यसपटक म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महाविर पुनले जित हात पार्नु भएको छ ।

Author

Related News