पोखरा । पोखरा महानगरपालिका-५, पर्स्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञबाट २ करोड ८१ लाख रुपियाँ सङ्कलन भएको छ ।
२०८३ भदौ १७ गतेदेखि सुरु भएको महायज्ञ २०८३ भदौ २५ गते सम्पन्न भएको प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिनुभयो ।
दान तथा सहयोग आउने क्रम अझै जारी रहेकाले सङ्कलित रकम ३ करोड रुपियाँ पुग्ने अपेक्षा गरिएको अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीले बताउनुभयो ।
महायज्ञको समापन कार्यक्रममा पोखरा महानगरपालिका-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले महायज्ञले वडावासीबीचको एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाएको बताउनुभयो ।
महायज्ञबाट सङ्कलित रकम मुख्यतः सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणमा खर्च गरिने प्रचारप्रसार संयोजक बरालले बताउनुभयो ।
सङ्कलित रकमको केही हिस्सा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट प्रभावितलाई सहयोग गर्नसमेत प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।
समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले सबैको सहयोग र सहभागिताका कारण धार्मिक अनुष्ठान सफल भएको बताउनुभयो । पुनर्निर्माणपछि मन्दिरको उद्घाटन महाशिवरात्रिका दिन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
नयाँ मन्दिर चार ओटा ढोका र पञ्चमुखी शिवलिङ्गसहित निर्माण गरिने भएको छ । मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।
समितिका सचिव लक्ष्मण कोइरालाले महायज्ञले धार्मिक तथा सामाजिक भावनालाई एकसाथ जोड्दै स्थानीयस्तरमा एकता, सहकार्य र सहयोगको भावना थप बलियो बनाएको बताउनुभयो ।
सन्तानेश्वर महादेव मन्दिर स्थानीय लीलाधर कोइरालाले ९२ वर्षअघि स्थापना गर्नुभएको थियो । पस्र्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा स्थानीयवासी, भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो ।