पोखरा । पोखरामा म्याद गुज्रिएका तथा लेबल विवरण नखुलेका खाद्य सामग्री बिक्री गरेको पाइएको हुँदा एक बेकरीलाई २० हजार रुपियाँ जरिबाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित काठमाडौं फ्रेश बेकरीले उत्पादन गरेको केक खाँदा एक उपभोक्ता बिरामी परेपछि अनुगमन गरिएको थियो ।
उपभोक्ताको गुनासोपछि २०८२ माघ २७ गते जिल्ला प्रशासन कार्यालयको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले बेकरीमा छापा मारेको थियो ।
अनुगमनका क्रममा पसल, उत्पादन स्थल र भण्डारण कक्षमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेका थिए ।
साथै, केही उत्पादनमा ब्याच नम्बर, उत्पादन मिति र प्रयोग योग्य मिति उल्लेख नभएको, सरसफाइको अवस्था सन्तोषजनक नभएको र बिक्री बिलसमेत उपलब्ध गराउन नसकेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनु भयो ।
टोलीले म्याद गुज्रिएका सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ । साथै, उपभोक्ता संरक्षण ऐनअन्तर्गत बेकरीलाई २० हजार रुपियाँ जरिबाना गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले व्यवसायीलाई मूल्यसूची र व्यवसायसम्बन्धी कागजात अद्यावधिक राख्न, सरसफाइमा विशेष ध्यान दिन, उत्पादनको लेबलमा आवश्यक विवरण अनिवार्य रूपमा उल्लेख गर्न तथा अनुगमनका क्रममा माग गरिएका कागजात तुरुन्त उपलब्ध गराउन निर्देशन दिएको छ । (प्रतीकात्मक तस्विर)
