मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पर्यटन क्षेत्रमा यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण: प्रजिअ गुरुङ

पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशको संयुक्त आयोजनामा कास्की, कुस्मा, बाग्लुङ र म्याग्दीका यातायात व्यवसायी, चालक तथा सहचालकका लागि एक दिने अभिमुखीकरण तालिम २०८२ मङ्सिर २४ गते बाग्लुङमा सम्पन्न भएको छ ।

बाग्लुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङले पर्यटन क्षेत्रमा यातायात व्यवसायीको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै गुणस्तरीय सेवा पर्यटन प्रवर्धनको पहिलो सर्त भएको उल्लेख गर्नु भयो ।


उनले विदेशी पर्यटकसँग व्यवसायी र कर्मचारीले गर्ने व्यवहार नै राष्ट्रको पहिचान झल्काउने भएकाले सकारात्मक व्यवहार मार्फत देशको राम्रो छाप पर्नुपर्ने धारणा राख्नु भयो ।

प्रजिअ गुरुङले इम्बोस्ट नम्बरका सवारीसाधनहरूमा पर्यटक यातायातको स्पष्ट पहिचान देखिनुपर्नेमा जोड दिँदै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दाहालले यसअघि पोखरामा विभिन्न अभिमुखीकरण कार्यक्रम भए पनि पहिलोपटक पोखराबाहिर बाग्लुङमा तालिम सञ्चालन गरिएको बताउनु भयो ।


उहाँले गुणस्तरीय सेवा सुनिश्चित गर्न निरन्तर पहल भइरहेको उल्लेख गर्दै राज्यको पर्यटन यातायातमैत्री नीति आवश्यक रहेको औँल्याउनु भयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत युवराज गुरुङले पर्यटनको विकाससँगै समुदायको जीवनस्तर पनि उकासिने बताउँदै यसका लागि सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनु भयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासमा यातायात क्षेत्र मुख्य आधार स्तम्भ रहेको बताउँदै सहकार्य र सामूहिक प्रयासबाट पर्यटन क्षेत्र मजबुत बनाउन सकिने धारणा राख्नु भयो ।

एनटिभिएका पूर्व अध्यक्ष तथा सल्लाहकार बोबरजङ्ग गुरुङले व्यवसायी तथा कर्मचारीको आचरण र व्यवहारले पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नु भयो ।

 
उनीले गुणस्तरीय सेवा र सकारात्मक व्यवहार पर्यटनको पहिलो आवश्यकता भएको उल्लेख गर्नु भयो ।

एनटिभिए गण्डकीका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले यातायात सेवा प्रभावकारी बनाउनै अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिनु भयो ।


कार्यक्रमसँगै पोखराबाट बाग्लुङ–बुर्तिबाङ हुँदै ढोरपाटनसम्म आन्तरिक पर्यटन प्रवर्धनका लागि विशेष भ्रमण समेत गरिएको उनले बताउनु भयो ।

कार्यक्रममा पर्यटन विज्ञ दीपेन्द्र पहारीले आतिथ्यता र पर्यटकसँगको व्यवहारसम्बन्धी प्रशिक्षण दिए भने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङका प्रमुख मीनबहादुर कुँवरले ट्राफिक नियम तथा सुरक्षित सवारी सञ्चालन सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भयो ।

कार्यक्रममा धौलागिरी–गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी, उद्योग वाणिज्य सङ्घ बाग्लुङका अध्यक्ष राजन शाक्य, एनटिभिए गण्डकीका महासचिव विकास कँडेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Author

Related News