पोखरा । पोखरामा क्रियाशील अधिकारकर्मीहरूको एक प्रतिनिधिमण्डलले २०८२ मङ्सिर २९ गते गृहमन्त्री ओमप्रकाश अर्याल तथा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग भेटघाट तथा छलफल गरेको छ।
छलफलमा पछिल्लो समय आमनागरिकको मानवअधिकारको अवस्था, शान्ति सुरक्षा, आगामी निर्वाचनको तयारी तथा समसामयिक विषयहरूमा विचार–विमर्श गरिएको थियो ।
भेटघाटका क्रममा गृहमन्त्री अर्यालले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो ।
सरकारले यस विषयलाई संवेदनशील रूपमा लिएको बताउँदै उहाँले पछिल्लो समय उल्लेखनीय सुधारहरू भइरहेको र अब बोल्नेभन्दा पनि काम गरेर देखाउने चरणमा सरकार रहेको स्पष्ट पार्नु भयो ।
त्यस्तै, प्रहरी महानिरीक्षक कार्कीले प्रहरीले नागरिकप्रति प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नु भयो ।
प्रहरीको भूमिका र दायित्वबारे पर्याप्त जनचेतनाको अभाव हुँदा प्रहरी सङ्गठनमाथि प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उहाँले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न प्रहरी सधैं जनताको साथमा रहेको बताउनु भयो ।
काम गर्ने क्रममा देखिएका कमजोरी तथा गुनासाबारे निष्पक्ष अनुगमन र सुझाव दिन उहाँले अधिकारकर्मीहरूलाई आग्रह गर्नु भयो ।
नागरिक मञ्च गण्डकीका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले आमनागरिकको मनोभावनाअनुसार सरकारी संयन्त्र सञ्चालन हुन नसक्दा नागरिकमा वितृष्णा उत्पन्न भएको र त्यसैको परिणामस्वरूप भदौ २३ र २४ गतेका घटनाहरू घटेको भन्दै गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराउनुभएको थियो ।
छलफलमा राष्ट्रिय मानवअधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौला, इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक गणेश भण्डारी, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका पूर्व संयोजक ढाकाराम पौडेल, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, अधिकारकर्मी तथा मानव आवाज अनलाइन पोखरा प्रमुख मधु पन्थी, कोपिला नेपालकी कार्यकारी निर्देशक विना शिलवाल लगायतले आमनागरिकको दैनिक आवश्यकता, शान्ति सुरक्षा, मानवअधिकारको प्रत्याभूति, शिक्षा, स्वास्थ्य तथा सुशासनको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्ने विषयमा धारणा राखेका थिए ।
यसैबीच, नेपाल सरकार गृह मन्त्रालय तथा गण्डकी प्रदेश सरकारको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेशस्तरीय एकदिने सुरक्षा गोष्ठी सञ्चालन भइरहेको छ ।
गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रदेश तथा गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थिति रहेको छ ।
गोष्ठीमा जिनजी आन्दोलनपछिको परिवेशमा प्रदेशभरको शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी गराउने तथा आगामी निर्वाचनलाई लक्षित गरी आवश्यक रणनीतिमाथि छलफल हुने जनाइएको छ ।
