पोखरा । पोखरा महानगरपालिका–१४, छिनेडाँडास्थित वडा कार्यालयमा कार्यरत कार्यालय सहायक गङ्गा विकमाथि जातीय विभेद भएको भनिएको घटनाप्रति मानवअधिकार रक्षकहरूले ध्यानाकर्षण जनाएका छन् ।
२०८३ असोज १२ गते कार्यालयमा खाजा खाने क्रममा विकलाई जातीय पहिचानका आधारमा “सोह्र श्राद्ध परेको छ, तपाईंले नछुनुहोस्” भनिएको तथा खाजा पकाउन रोक लगाइएको र उहाँले तयार पारेको खाजा अन्य व्यक्तिले नखाने भन्दै विभेदपूर्ण व्यवहार गरिएको आरोप छ ।
घटनाबारे जानकारी लिन गण्डकी प्रदेश मानवअधिकार रक्षक सञ्जालमा आबद्ध विभिन्न संस्थाका मानव अधिकार रक्षकहरूको टोलीले वडा अध्यक्ष र पीडित विकसँग २०८३ असोज २२ गते भेट गरी छलफल गरेको थियो ।
टोलीले घटनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न तथा विभेद भएको प्रमाणित भए प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
सञ्जालका संयोजक रामहरि ढुङ्गानाका अनुसार घटनाका सम्बन्धमा आवश्यक छानबिन, न्याय र आगामी दिनमा यस्ता विभेदपूर्ण व्यवहार दोहोरिन नदिने सुनिश्चितताका लागि वडा कार्यालयलाई लिखित रूपमा ध्यानाकर्षण गराइएको छ ।
मानवअधिकार रक्षकहरूले पीडित भनिएकी विकको सम्मान, आत्मसम्मान र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न, सार्वजनिक निकाय तथा स्थानीय तहका कार्यालयमा जातीय छुवाछुत तथा भेदभावविरुद्धका कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
साथै, जनप्रतिनिधि, कर्मचारी र सरोकारवालालाई सचेत गराउँदै यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न जोड दिएका छन् ।
नेपालको संविधानको धारा १८ ले समानताको हक र धारा २४ ले छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको स्मरण गराउँदै मानवअधिकार रक्षकहरूले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम घटनाको निष्पक्ष छानबिन र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
यसैबिच, पोखरा महानगरपालिका–१४ को वडा कार्यालयले जातीय, धार्मिक तथा लैङ्गिक विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माणका लागि वडावासीलाई ‘विभेदविरुद्धको महाअभियान’मा सहभागी हुन सार्वजनिक आह्वान गरेको छ ।
वडा अध्यक्ष बोधबहादुर कार्कीले जारी गरेको सार्वजनिक सूचनामा जन्मका आधारमा कोही पनि नागरिक ठूलो वा सानो नहुने भन्दै जातीय विभेद तथा छुवाछुतलाई समाजबाट जरैदेखि अन्त्य गर्न सबै वर्ग र समुदायलाई समान व्यवहार र सम्मान गर्न आग्रह गरिएको छ ।
त्यस्तै, प्रत्येक व्यक्तिको आस्था र धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम गर्न तथा महिला, पुरुष र लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई समान अधिकार, सम्मान र अवसर सुनिश्चित गर्न अपिल गरिएको छ ।
वडा कार्यालयले परिवर्तनको सुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिँदै सभ्य नागरिकको परिचय दिन, कानुनको पालना गर्न र विभेदमुक्त वडा निर्माणको अभियानमा सक्रिय सहभागिता, सहयोग र ऐक्यबद्धता जनाउन सम्पूर्ण वडावासीमा आग्रह गरेको छ ।