मानव आवाज

२०८२ फाल्गुन २९ गते
00: 00: 00
२०८२ फाल्गुन २९ गते

निर्वाचन अनुगमनबारे समीक्षा बैठक सम्पन्न

पोखरा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मानव अधिकार र सामाजिक न्यायका दृष्टिकोणबाट गरिएको अनुगमनसम्बन्धी समीक्षा बैठक फागुन २८ गते सम्पन्न भएको छ ।

आयोगको सभाकक्षमा आयोजित बैठकमा आचारसंहिता कार्यान्वयन, शान्ति-सुरक्षा, आपूर्ति व्यवस्थापन, राजनीतिक दलका गतिविधि तथा निर्वाचन अनुगमन र पर्यवेक्षणमा संलग्न सङ्घसंस्थाबिचको समन्वयका विषयमा समीक्षा गरिएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग पोखराकी कार्यालय प्रमुख नितु गर्तौलाको अध्यक्षतामा आयोजित बैठकमा निर्वाचन पर्यवेक्षण तथा स्थलगत अनुगमनमा संलग्न विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अध्यक्षता गर्दै प्रमुख गर्तौलाले गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका जिल्लामा निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपश्चात् गरी तीन चरणमा आयोगको अनुगमन टोलीमार्फत निर्वाचनको अनुगमन गरिएको जानकारी दिनु भयो ।

कास्की जिल्लामा यसपटक निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), महिला कानुन तथा विकास मञ्च (एफडब्लुएलडी), नेपाल मानव अधिकार सङ्गठनलगायतका संस्थाले पर्यवेक्षण गरेका थिए ।

समीक्षा बैठकमा नियोक गण्डकी संयोजक विष्णुप्रसाद बराल, सहसंयोजक विना शिलवाल, गैसस महासङ्घ गण्डकीका अध्यक्ष पदमराज पहारी, मानव अधिकार एलायन्स गण्डकीका अध्यक्ष डा. बुद्धीबहादुर थापा, इन्सेक पोखराका संयोजक गणेश भण्डारी, अधिकारकर्मी तथा पत्रकार मधु पन्थी, जियोक संयोजक जुनाकुमारी गुरुङ, राष्ट्रिय अपाङ्ग महासङ्घका अरुण श्रेष्ठलगायतले निर्वाचनपूर्व, निर्वाचनको दिन तथा निर्वाचनपश्चात् गरिएको पर्यवेक्षणका क्रममा देखिएका मानव अधिकारसम्बन्धी विषय, सकारात्मक प्रयास र अनुभवबारे आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा आयोगका मानव अधिकार अधिकृतद्वय टङ्कप्रसाद खनाल र खिमलाल सुवेदी, मुक्तिराम सुवेदी तथा नायब सुब्बा मुकेश घिमिरेको पनि सहभागिता रहेको थियो ।

वक्ताहरूले विगतका निर्वाचनको तुलनामा यसपटकको निर्वाचन तुलनात्मक रूपमा स्वच्छ, पारदर्शी तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए ।

समीक्षा बैठकले निर्वाचन अनुगमनका क्रममा सहयोग गर्ने मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता, खटिएका कर्मचारी, निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालयसहित सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ ।

कास्की जिल्लामा प्रत्यक्षतर्फ ४४ पुरुष र पाँच महिला गरी कुल ४९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रमा १ सय ५३ मतदानस्थल र ३ सय ६५ मतदान केन्द्र कायम गरिएको थियो ।

यसैबिच बैठकले प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तीनै तहका सरकार, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्षलाई थप जिम्मेवार हुन आग्रह गरेको छ ।

नेपालको संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेको स्वच्छ र स्वस्थ वातावरणसम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग बैठकले आग्रह गरेको छ ।

पछिल्ला वर्षहरूमा नेपाल विश्वका अत्यधिक वायु प्रदूषित देशहरूको अग्रसूचीमा पर्ने गरेको उल्लेख गर्दै बैठकले हालैका दिनमा बढ्दो वायु प्रदूषणप्रति सचेत रहन पनि सबैलाई आह्वान गरेको छ ।

वायु प्रदूषणका कारण फोक्सोसम्बन्धी रोग, मुटुरोग, मस्तिष्काघात तथा श्वासप्रश्वास प्रणालीमा सङ्क्रमणजस्ता स्वास्थ्य समस्या बढ्ने गरेको बताउँदै अध्ययनअनुसार नेपालमा हरेक वर्ष झण्डै २६ हजार व्यक्तिको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको उल्लेख गरिएको छ ।

बैठकमा ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पनि औँल्याइएको छ ।

वायु गुणस्तरसम्बन्धी कार्यक्रमहरू दातामुखी हुनु, अध्यावधिक तथ्याङ्कको अभाव, विभिन्न तहका सरकार तथा निकायबीच प्रभावकारी समन्वय हुन नसक्नुजस्ता कारण वातावरण संरक्षणका प्रयास प्रभावकारी हुन नसकेको निष्कर्ष पनि बैठकले निकालेको छ ।

Author

Related News