मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

घोषणापत्रमा एकल महिलाका सवाल समावेश गर्न आग्रह

पोखरा । मानव अधिकारका लागि महिला अन्तर्गत एकल महिला समूह कास्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै कास्कीका प्रमुख राजनीतिक दलहरूलाई एकल महिलाका सवाल र अधिकारहरू घोषणापत्रमा स्पष्ट रूपमा समावेश गर्न आग्रह गरेको छ ।

समूहले आठ बुँदे सुझावसहितको मागपत्र विभिन्न राजनीतिक दलका जिल्ला कार्यालयमा बुझाएको हो ।

मागपत्रमा राष्ट्रिय तथ्याङ्कमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्न आग्रह गरिएको छ ।

साथै एकल महिलाका लागि शिक्षा, सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्न, निर्णय–निर्माण तहमा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गर्न र सम्मानजनक जीवनयापनको वातावरण तयार गर्न माग गरिएको छ ।

त्यसैगरी, एकल महिला सुरक्षा कोष (२०७५) को सङ्घीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयन, सुदृढ सामाजिक सुरक्षा व्यवस्था तथा आवश्यक कानुनी सुधारमार्फत सम्मान, समानता र न्याय सुनिश्चित गर्न पनि जोड दिइएको छ ।

मानव अधिकारका लागि महिला (WHR) एकल महिला समूह गण्डकी प्रदेश अध्यक्ष प्रमिला तझ्याको नेतृत्वमा संस्थासँग आवद्ध प्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीहरूको टोलीले नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यालयमा पुगेर सुझाव पत्र बुझाएको जनाएको छ ।

मागपत्र ग्रहण गर्दै सम्बन्धित दलका प्रमुख तथा प्रतिनिधिहरूले सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै एकल महिलाका मुद्दामा दलहरू संवेदनशील बन्दै आएको बताएका छन् । उनीहरूले संस्थाको सक्रिय खबरदारी र रचनात्मक पहलप्रति धन्यवाद व्यक्त गरेका छन् ।

समूहले भने देशभरका एकल महिलाहरू अब आश्वासन मात्र नभई स्पष्ट प्रतिबद्धता र प्रभावकारी कार्यान्वयन चाहेको उल्लेख गर्दै निर्वाचनमार्फत एकल महिलाका सवाललाई मूलधारमा ल्याउन राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेको छ ।

Author

Related News