मानव आवाज

२०८३ भदौ २६ गते
00: 00: 00
२०८३ भदौ २६ गते

कर्मफ्लाइट्सको दोस्रो चरणमा करिब २० लाख रुपियाँको राहत सामग्री

पोखरा । भोटेकोशी बाढीले सडक, पुल र घरहरू मात्र बगाएन, रसुवाको उत्तरगया गाउँपालिका-३ ठूलो गाउँका धेरै परिवारको आम्दानी, सुरक्षित भविष्य र आफ्ना प्रियजनसमेत खोसिदियो । बाढी गएको १६ दिन बितिसक्दा पनि केही परिवार अझै बेपत्ता आफन्तको खबर पर्खिरहेका छन् ।

घर र जीविकोपार्जन गुमाएका परिवारका लागि राहतको आवश्यकता तत्कालका लागि मात्र नभई लामो समयसम्म रहने देखिएको छ । यही अवस्थालाई मध्यनजर गर्दै कर्मफ्लाइट्स फाउन्डेसन नेपालले नुवाकोटको विदुर क्षेत्रमा पहिलो चरणको राहत अभियान सम्पन्न गरेपछि २०८३ भदौ २२ देखि २५ गतेसम्म रसुवाको उत्तरगया गाउँपालिका-३ ठूलो गाउँमा दोस्रो चरणको राहत अभियान सञ्चालन गरेको हो ।

करिब ४ सय ८० परिवार प्रभावित रहेको ठूलो गाउँमा २१ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । वडा अध्यक्ष लालबहादुर लामाका अनुसार बाढीपछि ३१ जना अझै बेपत्ता छन् । “बाढीले घर मात्र होइन, परिवारको आधार र भविष्यसमेत हल्लाइदिएको छ । बेपत्ता आफन्तको खबर पर्खिरहेका परिवारको पीडा हामीले नजिकबाट महसुस गरेका छौँ ।”-लामाले भन्नुभयो ।

महिलाहरूले सेनेटरी प्याडको अभावलाई गम्भीर समस्याका रूपमा सुनाएका छन् । नजिकै पसल नहुँदा र सञ्चालनमा रहेका थोरै पसलमा समेत प्याड उपलब्ध नहुँदा महिनावारी स्वच्छता कायम गर्न कठिन भइरहेको उनीहरूको भनाइ छ । राहत वितरणमा प्रत्यक्ष संलग्न रेणुका कार्कीका अनुसार विपद्का समयमा महिनावारी स्वच्छता प्रायः ओझेलमा पर्ने भए पनि यो खाद्यान्न र सुरक्षित बसोबासजत्तिकै आधारभूत आवश्यकता हो । “महिलाहरूका लागि महिनावारी स्वच्छता पनि खाद्यान्न र सुरक्षित बसोबासजत्तिकै महत्वपूर्ण आवश्यकता हो । आगामी राहतमा यसलाई प्राथमिकतामा राख्नुपर्छ ।”-कार्कीले भन्नुभयो ।

ज्येष्ठ नागरिक र दीर्घरोग भएकाहरूका लागि नियमित औषधिको पहुँच पनि प्रभावित भएको छ । स्थानीय स्वास्थ्य चौकीमा थाइराइड, मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोगका बिरामीले प्रयोग गर्ने औषधिको अभाव हुन थालेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । आगामी राहत अभियानमा खाद्यान्नसँगै औषधि, स्वास्थ्य सामग्री, महिनावारी स्वच्छताका सामग्री र अन्य विशेष आवश्यकताका सामग्रीलाई प्राथमिकता दिनुपर्ने देखाएको छ ।

कर्मफ्लाइट्सको १५ सदस्यीय टोली सात ओटा गाडीमा राहत सामग्री लिएर पोखराबाट ठूलो गाउँतर्फ गएको थियो । संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरका अनुसार तीन दिनको कठिन यात्रापछि टोली भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली नदी करिडोरको दुर्गम बस्तीमा पुगेको थियो । “हामीले बाटोमा धेरैपटक गाडी रोकेर सामग्री जाँच्यौँ । कहिले हिलोले गाडी तान्थ्यो, कहिले सडक नै हराएजस्तो देखिन्थ्यो । तर गाउँमा पुगेर परिवारहरूको अनुहार देखेपछि सबै थकान हरायो ।”-कुँवरले भन्नुभयो । कुँवरका अनुसार वितरण गरिएको राहत सामग्रीको कुल मूल्य करिब २० लाख रुपियाँ बराबरको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार