पोखरा । पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीमा आयोजना हुने तेस्रो पर्वतीय दौड प्रतियोगिता-२०८३ का लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ ।
‘खेल पर्यटन प्रवर्द्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ भन्ने नारासहित पोखरा क्लिक र पोखरा प्रवर्धन केन्द्रको आयोजनामा हुने प्रतियोगिताका लागि असोज २ गतेदेखि अनलाइनमार्फत खेलाडी दर्ता सुरु गरिएको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले पोखरा क्लिक डटकम मार्फत अनलाइन फाराम भर्न सक्ने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिनुभयो ।
संयोजक बरालका अनुसार प्रतियोगितामा विदेशी धावकसहित बढीमा ३ सय जना खेलाडीलाई मात्र सहभागी गराइनेछ । अन्य दौड प्रतियोगिताभन्दा पुम्दी–भुम्दी पर्वतीय दौड केही फरक रहेको उहाँले बताउनुभयो ।
ग्रामीण परिवेशमा रहेको पुम्दी–भुम्दी क्षेत्रका तीन धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर प्रतियोगिता आयोजना गर्न लागिएको भएकाले व्यवस्थापनलाई सहज बनाउन सहभागी खेलाडीको सङ्ख्या सीमित गरिएको संयोजक बरालले जानकारी दिनुभयो ।
विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी यसअघि भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण केही समय रोकिएको थियो ।
बाढीका कारण प्रभावित क्षेत्रप्रति ऐक्यबद्धता जनाउँदै तयारी स्थगित गरिएपछि प्रतियोगिता आगामी २०८३ असोज २४ गते आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा खुलासहित विभिन्न ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार पर्वतीय दौडमार्फत पुम्दीभुम्दी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक तथा पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखिएको छ ।