रुद्रबहादुर खड्का, सिन्धुली ।
अविरल वर्षाका कारण काभ्रेको रोशी खोलाले बगाएको बीपी राजमार्गको भागमा ट्र्याक निर्माण कार्य सुरु गरिएको छ ।
असोज १८ गतेदेखि असोज २० गतेसम्म परेको वर्षाले सुनकोशी गाउँपालिका-५ नेपालथोकदेखि बर्खेखोलासम्म करिब ६ सय मिटर सडक बगाएको थियो ।
उक्त सडक बगाउँदा दशैँ मनाएर उपत्यका फर्किरहेका यात्रुहरूलाई ठूलो सास्ती भएको थियो । सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा खुर्कोट-मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली-हेटौँडा हुँदै सवारी साधन चलाइँदै आएको छ ।
बीपी राजमार्गअन्तर्गत नेपालथोक-धुलिखेल खण्डको दुम्जा प्रहरी चौकी नजिकै रोशी खोलाले बगाएको सडक खण्डमा सोमबारदेखि ट्र्याक खोल्ने काम सुरु भएको हो ।
डिभिजन सडक कार्यालय खाल्टाले एक्स्काभेटर परिचालन गरी रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर अस्थायी सडक निर्माण कार्य अघि बढाएको जनाएको छ ।
डिभिजन सडक कार्यालयका प्रमुख पारसमणि हमालका अनुसार अस्थायी सडक निर्माणका लागि खोलाकै ढुङ्गा, गिटी र बालुवा प्रयोग गरिनेछ । “ट्र्याक खुलेपछि काभ्रेको माम्तीसम्म यातायात सञ्चालन गर्न सकिनेछ,” हमालले बताए ।
हाल बीपी राजमार्गको धुलिखेल-सिन्धुली-बर्दिबास खण्डमध्ये करिब १ सय १० किलोमिटर सडक सञ्चालनमा छ भने ५० किलोमिटर भाग पुनर्निर्माणको चरणमा रहेको छ ।
यस्तै, काभ्रेको चौकीडाँडाबाट पनि अस्थायी सडक निर्माणको काम सुरु गरिएको छ । असोज १८ गते र असोज १९ गतेको बाढीपहिरोले राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएपछि स्थानीय र सरोकारवाला निकायहरूले तिहारअघि सडक सञ्चालनयोग्य बनाउने तयारी गरेको जनाइएको छ ।
गत वर्ष पनि असोज १२ गते आएको बाढीले क्षति पुर्याएको यो बाटोमा यो वर्ष पनि क्षति पुर्याएको हो ।