पोखरा । पोखराको पर्यटन प्रवर्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो पुम्दीभुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जित्नुभएको छ ।
सुदूरपश्चिमका रावतले आठ किलोमिटर दूरी ३४ मिनेट ३५ सेकेण्ड ८८ मिलीसेकेण्डमा पूरा गर्दै लगातार दोस्रो वर्ष खुलातर्फको उपाधि जित्नुभएको हो ।
विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा २०८३ असोज २४ गते आयोजित प्रतियोगितामा नेपालसहित फ्रान्स, रुस, चीन, चिली र युक्रेनका गरी ६ देशका १ सय ७५ धावक सहभागी भएका थिए ।
पोखरा महानगरपालिका-२२ स्थित विश्वशान्ति स्तूपबाट सुरु भएको दौड बुद्धपार्कमा पुगेर सम्पन्न भएको थियो ।
‘खेल पर्यटन प्रवर्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नारासहित आयोजित प्रतियोगिताले पोखराको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र ग्रामीण पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
विशेषगरी पुम्दीभुम्दी क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र खेल पर्यटनमार्फत स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले पर्वतीय दौडजस्ता कार्यक्रमले पोखराको पर्यटनलाई विविधीकरण गर्न तथा खेलाडी, पर्यटक र स्थानीय समुदायबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।
यस्ता प्रतियोगिताले पर्यटनसँगै स्थानीय अर्थतन्त्र र रोजगारीका अवसर सिर्जना गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसारमा जोड दिनुभयो ।
समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानीका रूपमा स्थापित गर्दै विभिन्न पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र नयाँ पर्यटकीय गतिविधिको विकासमा महानगरले जोड दिँदै आएको बताउनुभयो ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक स्थल, साहसिक गतिविधि र खेल पर्यटनका दृष्टिले पोखरा महत्त्वपूर्ण गन्तव्य भएको उल्लेख गर्दै उनले पर्वतीय दौडले यहाँको पर्यटन प्रवर्धनमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा प्रवर्धन केन्द्रका अध्यक्ष दिननाथ बरालले प्राकृतिक सौन्दर्य, ग्रामीण परिवेश र पर्वतीय भूगोललाई खेलकुदसँग जोडेर पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
खुलातर्फ रावत पहिलो
खुलातर्फ रावतले ३४ मिनेट ३५ सेकेण्ड ८८ मिलीसेकेण्डमा निर्धारित दूरी पार गर्दै ५० हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
गौतम श्रेष्ठ ३५ मिनेट १६ सेकेण्ड १९ मिलीसेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो भने निरोज भट्ट क्षेत्रीले ३५ मिनेट २९ सेकेण्ड १ मिलीसेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । उहाँहरूले क्रमशः ३० हजार र १५ हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
धिरबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौँ हुनुभयो । छैठौँदेखि दशौँ स्थानसम्म क्रमशः महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशीष कुँवर रहनुभयो ।
खुलातर्फ चौथो र पाँचौँ हुनेले क्रमशः ७ हजार र ३ हजार रुपियाँ प्राप्त गर्नुभयो भने छैठौँदेखि दशौँ स्थान हासिल गर्ने धावकलाई जनही १ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
महिलातर्फ दीपा बस्नेतले ४८ मिनेट १३ सेकेण्ड ४६ मिलीसेकेण्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । द्रोपता कठायत दोस्रो र मीमु बुढा तेस्रो हुनुभयो ।
यू-१६ तर्फ कमल विक, मुलुकसिंह खत्री र सक्षम बोहोरा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । पोखरा-२२ को वडास्तरीय विधामा कुशल परियार, सुयन विक र कमल पौडेल क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्नुभयो । भेट्रान्सतर्फ तेजबहादुर गुरुङ पहिलो हुँदा किशोर थापा दोस्रो र कमल गुरुङ तेस्रो हुनुभयो ।
विदेशी धावकतर्फ म्याथियस डियोन पहिलो, अलेक्जेण्डर दोस्रो र माइकाइलो तेस्रो हुनुभएको आयोजकले जनाएको छ ।
खुलाबाहेक अन्य विधाका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा पोखरा महानगरपालिका-२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतम, वरिष्ठ समाजसेवी चन्द्रकान्त बराल, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, नाटा गण्डकी प्रदेशकी अध्यक्ष सङ्गीता पौडेल, पोखरा होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष लक्ष्मण सुवेदी, टानका अध्यक्ष कृष्णप्रसाद आचार्य, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पुम्दीभुम्दीको पर्यटन प्रवर्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै राज गुरुङ (लाला) र म्याराथन धावक अर्जुन गोदारलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
प्रतियोगितामा सहभागी धावकहरूले दौडका क्रममा मनोरम हिमाल र फेवातालसहित पोखराको प्राकृतिक सौन्दर्य अवलोकन गरेका थिए ।
आयोजकका अनुसार यस्ता प्रतियोगिताले खेल पर्यटनको विकाससँगै पोखराका ग्रामीण तथा पर्यटकीय क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पोखरा प्रवर्धन केन्द्रका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष असफल गौतमले स्वागत तथा प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।