मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

शान्ति प्रक्रिया र संविधान निर्माणमा सक्रिय रावल नेपाली कम्युनिष्ट पार्टीमा

काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने पक्कापक्की भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा २०८२ कात्तिक २६ गते आयोजित कार्यक्रममा उहाँको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेको हो

नेकपा एमालेका अध्यक्षसँग प्रतिस्पर्धा गरेपछि पार्टीबाट निष्कासनमा पर्नुभएका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्नु भएको थियो ।

नेकपाका नेताहरूसँग वार्ता गरेपछि रावलले यस्तो निर्णय गर्नु भएको बताइएको छ ।

उक्त कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भिम रावलको परिचय

प्रखर राजनीतिक नेता डा. भीम रावल अछाम जिल्लाको साँफेबगर नगरपालिका–६ कालाआममा २०१३ साउन ४ गते जन्मिनु भएको हो । राजनीति शास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक गर्नुभएका उहाँले विद्यार्थी जीवनबाट नै प्रगतिशील आन्दोलनमा सहभागिता जनाउनु भयो । २०३० सालदेखि सक्रिय राजनीतिमा होमिनु भएका रावल विद्यार्थी आन्दोलन, कारागारका अनुभव, भूमिगत गतिविधि तथा सङ्गठन निर्माणको जटिल चरण पार गर्दै अनेरास्ववियुकै संस्थापक नेतृत्वमध्ये एक बन्नु भयो ।


लामो समयदेखि नेकपा (एमाले) को केन्द्रीय तहमा निर्णायक भूमिकामा सक्रिय रहनुभएका रावल विद्यार्थी क्षेत्रदेखि बुद्धिजीवी कमिटी, प्रचार, विदेश विभाग, सङ्गठन विभाग हुँदै क्रमशः पार्टीको केन्द्रीय कमिटी सदस्य, उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश कमिटीको संयोजक बन्नु भयो । २०५१ सालदेखि विभिन्न चरणमा प्रतिनिधिसभा तथा संविधानसभामा निर्वाचित हुँदै उहाँले राज्यको उच्च जिम्मेवारी-राज्यमन्त्री, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विज्ञान–प्रविधि मन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ । शान्ति प्रक्रियामा, विशेष गरी माओवादी लडाकुहरूको समायोजन तथा संविधान निर्माणमा उनको सक्रिय सहभागिता थियो ।


सरकारी जिम्मेवारीसँगै अन्तर्राष्ट्रिय विषयगत गतिविधिमा पनि रावल उतिकै सक्रिय हुनुहुन्छ । संयुक्त राष्ट्र सङ्घ अन्तर्गत कम्बोडियाको निर्वाचन व्यवस्थापनदेखि लिएर न्यूयोर्कस्थित महासभा र सुरक्षा परिषद् सम्बोधनसम्मको अनुभव उहाँले बटुल्नु भएको छ । मानव अधिकार, जलस्रोत, विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन–अनुसन्धान गर्दै उहाँले ‘नेपालमा साम्यवादी आन्दोलन’, ‘राजनीति र मानव अधिकार’, ‘लिम्पियाधुरा’ जस्ता कृति प्रकाशन गर्नु भएको छ ।

Author

Related News