मानव आवाज

२०८३ असार १६ गते
00: 00: 00
२०८३ असार १६ गते

‘रामपुर हाइब्रिड–१०’ मकैको बीउले किसानलाई बनायो आत्मनिर्भर

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाले कृषि क्षेत्रमा एउटा ऐतिहासिक फड्को मारेको छ । जिल्लामै पहिलोपटक गाउँपालिकाले उत्पादन तथा वितरण गरेको ‘रामपुर हाइब्रिड–१०’ जातको मकैको बीउले किसानहरूलाई आत्मनिर्भरतातर्फ अघि बढाएको छ ।

नयाँ जातको बीउबाट अपेक्षाभन्दा राम्रो उत्पादन भएपछि गाउँपालिकाका सयौँ किसान उत्साहित बनेका छन् ।

त्यसमध्ये हरिहरपुरगढी गाउँपालिका–२, जखौलीका किसान धीरेन्द्र राई व्यावसायिक मकै खेतीबाट उल्लेखनीय सफलता हासिल गर्ने उदाहरण बन्नुभएको छ ।

विगतमा बजारबाट खरिद गरिएको विभिन्न जातका बीउ प्रयोग गर्दा किरा लाग्ने, रोग फैलिने तथा उत्पादन अपेक्षाअनुसार नहुने समस्याबाट हैरानी पाउनुभएका राईले यस वर्ष गाउँपालिकाले ३० प्रतिशत अनुदानमा उपलब्ध गराएको ‘रामपुर हाइब्रिड–१०’ जातको बीउ प्रयोग गर्नुभयो । त्यसपछि उहाँको बारीमा अघिल्ला वर्षहरूको तुलनामा निकै राम्रो उत्पादन भयो ।

गाउँपालिकाले यस वर्ष जिल्लामै पहिलोपटक ४ सय २३ जना किसानलाई ३० प्रतिशत अनुदानमा ‘रामपुर हाइब्रिड–१०’ मकैको बीउ वितरण गरेको थियो ।

प्रदेश बीउ विजन प्रयोगशाला, हेटौँडाको सहयोगमा स्वदेशी बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

राईले आफ्नो १६ कठ्ठा जमिनमा यही बीउ प्रयोग गरी मकै खेती गर्नुभएको थियो । उत्पादन राम्रो भएपछि उहाँले यस वर्ष करिब ९ लाख रुपियाँ बराबरको मकै बिक्री गर्न सफल भएको बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष उत्पादन भएको मकैका दाना ठूला, स्वस्थ र गुणस्तरीय भएकाले बिक्री वितरणमा पनि कुनै समस्या भएन ।

राई भन्नुहुन्छ, “आगामी वर्ष सबै खेतमा यही जातको मकै लगाउँछु। किसानले दुःख गरेर खेती गरेपछि राम्रो उत्पादनको अपेक्षा गर्नु स्वाभाविक हो । अघिल्ला वर्षमा सोचेजस्तो उत्पादन भएन, तर यस वर्षको नतिजाले हामी निकै उत्साहित भएका छौँ ।”

गाउँपालिकाले गुणस्तरीय बीउ उपलब्ध गराएकोमा धन्यवाद दिँदै उहाँले बीउ वितरणसँगै आवश्यक पर्दा खेतमै पुगेर प्राविधिक परामर्श दिने व्यवस्था पनि प्रभावकारी रहेको बताउनुभयो ।

राई मात्र होइन, अन्य लाभग्राही किसानहरूले पनि गाउँपालिकाको यो पहलले खेतीप्रति नयाँ उत्साह थपिएको बताएका छन् ।

स्थानीय सरकारको यस पहलले कृषि उत्पादनमा वृद्धि गर्नुका साथै परम्परागत खेती गरिरहेका किसानहरूलाई व्यावसायिक कृषितर्फ आकर्षित गरेको छ ।

‘रामपुर हाइब्रिड–१०’ मकैप्रति किसानहरूको बढ्दो आकर्षणले हरिहरपुरगढीमा कृषि आधुनिकीकरणको सम्भावना अझ बलियो भएको देखिन्छ ।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले स्थानीय किसानको आय वृद्धि र कृषि क्षेत्रको आधुनिकीकरणका लागि आगामी दिनमा पनि गुणस्तरीय बीउ, आधुनिक प्रविधि तथा प्राविधिक सहयोगलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सुखी पालिकावासी, समृद्ध पालिका” निर्माणको अभियानमा कृषि क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ । त्यसैले किसानको आवश्यकता अनुसार थप प्रभावकारी कृषि कार्यक्रम सञ्चालन गर्न गाउँपालिका सदैव प्रतिबद्ध रहनेछ ।

हरिहरपुरगढी गाउँपालिकाको यो पहलले स्थानीय किसानमा आत्मविश्वास बढाउनुका साथै कृषि क्षेत्रलाई रोजगारी र आयआर्जनको भरपर्दो माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ ।

Author

Share the News

Recent News

Related News