रुद्रबहादुर खड्का, काठमाडौँ ।
“तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो” भन्ने नाराका साथ १९ औँ मानव बेचबिखन विरुद्धको दिवस माइती नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शान्ति फाण्डेसनलगायतका सङ्घसंस्थाहरूले काठमाडौँमा २०८२ भदौ २० गते र्याली निकालेका छन् ।
आ–आफ्नो ब्यानर र प्लेकार्डसहित भृकुटीमण्डपबाट सुरु भएकव् र्याली राष्ट्रिय नाचघर जमलमा पुगेर सभामा परिणत भएको थियो ।
यो पनि–मानव बेचबिखनविरुद्धको सङ्घर्ष-अवसर, चुनौती र साझा जिम्मेवारी
सभामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन समाजलाई कलङ्कित पार्ने काम भएको उल्लेख गर्दै यसका बिरुद्धमा हुने कार्यक्रमहरू सफल बनाउनुपर्ने बताउनु भयो ।
र्यालीमा सहभागीहरुले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानुनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो, सचेत रहौँ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
२०६३ साल भदौ २० गते व्यवस्थापिका संसदबाट मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुमोदन गरेको दिनलाई स्मरण गर्दै नेपाल सरकारले हरेक वर्ष भदौ २० गतेलाई मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले बताउनु भयो ।