रुद्रबहादुर खड्का, सिन्धुली ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सिन्धुलीमाढीमा २०८२ मङ्सिर ९ गते विविध कार्यक्रमसँगै र्याली तथा दीप प्रज्वलन गरिएको छ ।
कमलामाई नगरपालिका लगायत जिल्लाकै नौ ओटै स्थानीय तहको समन्वित आयोजनामा जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा एकैसाथ कार्यक्रम सम्पन्न गरियो ।
कमलामाई नगरपालिकाको लोकतान्त्रिक चोकमा सुरु गरिएको र्याली स्टलबजार, गैरीबजार, दुई नम्बर बजार र मधुटार हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने यो अभियान नेपालमा समेत “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ सञ्चालन भइरहेको छ ।
कार्यक्रम कमलामाई नगरपालिकाको नेतृत्वमा नेपाल प्रहरी, प्लान इन्टरनेशनल नेपाल, ह्याण्ड्स नेपाल लगायतका सङ्घसंस्थाको सहकार्यमा सम्पन्न गरिएको थियो । साँझको कार्यक्रममा दीप प्रज्वलनसमेत गरिएको थियो ।
कोणसभामा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले लैङ्गिक हिंसा अन्त्य घर, समाज र राष्ट्र सबै तहबाटै सुरु हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

एक पक्षको प्रयासले मात्र समस्या समाधान नहुने बताउँदै उहाँले प्रत्येक निकायले दायित्वअनुसार हिंसा न्युनिकरणमा सक्रिय भूमिका लिनुपर्नेमा जोड दिनु भयो ।
त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले लिङ्गका आधारमा कुनै पनि प्रकारको विभेद अस्वीकार्य भएको बताउँदै अभियानको मूल उद्देश्य नै घरपरिवारदेखि सार्वजनिक क्षेत्रसम्म लैङ्गिक विभेद अन्त्य गर्नु रहेको स्पष्ट पार्नु भयो ।
जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले लैङ्गिक हिंसामा महिला मात्र होइन पुरुष पनि पर्न सक्ने तथ्य औंल्याउनु भयो ।
पुरुषहरू उजुरी दिन नआउनुका कारणले तथ्याङ्क अपूर्ण देखिने गरेको उल्लेख गर्दै उहाँले हिंसामुक्त समाज निर्माणका लागि राजनीतिक दलदेखि सङ्घसंस्था र राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने आवश्यकता दोहोर्याउनु भयो ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले लैङ्गिक हिंसा महिला, पुरुष वा अन्य जो कोहीमाथि पनि हुन सक्ने भएकाले अभियानको महत्व झनै बढेको बताउनु भयो । हिंसा रोकथामको प्रभावकारी सुरुवात घरैबाट गर्नुपर्ने उहाँले उल्लेख गर्नु भयो ।
सिन्धुलीमा सम्पन्न अभियानले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरमा जागरण र सहकार्य आवश्यक रहेको सन्देश दिएको आयोजकहरूको भनाइ छ ।