मानव आवाज

२०८३ भाद्र ४ गते
00: 00: 00
२०८३ भाद्र ४ गते

रेडियो पश्चिम पोखराद्वारा भदौ २७ गते खुला तिज गीत प्रतियोगिता आयोजना

पोखरा । महिलाहरूको पर्व हरितालिका तिजको अवसरमा साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले सामुदायिक रेडियो रेडियो पश्चिम पोखरा १०७.९ मेगाहर्जले खुला तिज गीत प्रतियोगिता आयोजना गरेको छ ।

रेडियोले २०८३ भदौ २७ गते पोखरा महानगरपालिका-१४, बेलचौतारामा प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

प्रतियोगितामा १५ देखि २० ओटा महिला समूहको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ५ सय रुपियाँ तोकिएको पनि रेडियोले जनाएको छ ।

२०७३ सालमा स्थापना भई समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील पश्चिम पोखरा सामुदायिक विकास केन्द्रअन्तर्गत सञ्चालित रेडियोले सूचना, सञ्चार, शिक्षा, स्वास्थ्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

रेडियोको प्रसारण पोखरा महानगरपालिकासहित कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण, रूपा र मादी गाउँपालिकाका साथै आसपासका जिल्लासम्म पुग्ने गरेको छ ।

आयोजकका अनुसार प्रतियोगिता रेडियो पश्चिम पोखरा १०७.९ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने स्थानीय टेलिभिजनबाट समेत प्रसारणको व्यवस्था मिलाइएको छ । आयोजकले करिब ३ लाख दर्शक तथा श्रोतासम्म कार्यक्रमको प्रत्यक्ष पहुँच पुग्ने अपेक्षा गरेको छ ।

प्रतियोगिताले नेपाली महिलाको मौलिक सिर्जनालाई प्रोत्साहन गर्नुका साथै तिज संस्कृतिको संरक्षण र प्रवर्धनमा योगदान पुर्‍याउने रेडियोले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुलीलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहनेछ ।

पोखरा महानगरपालिका-१४ को विशेष सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको रेडियोका प्रबन्ध निर्देशक मोतिसागर अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि मुख्य प्रायोजक, सहप्रायोजक तथा पुरस्कार प्रायोजकको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रायोजकहरूलाई रेडियोमा निश्चित अवधिसम्म निःशुल्क विज्ञापन, प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरिने कार्यक्रम संयोजक सुनिता पराजुलीले बताउनुभयो ।

Author

Share the News

Recent News

Related News