मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सार्वजनिक-निजी साझेदारी आवश्यक: मन्त्री थापा

मधु पन्थी, पोखरा ।

गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले कास्कीको सहारा बाल आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशालाका लागि २ लाख रुपियाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

एक औपचारिक कार्यक्रममा २०८२ असार २४ गते यस्ता सामग्रीहरू सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले शिक्षामा आवश्यक परिवर्तन विद्यालयबाटै सुरु हुने धारणा राख्नु भयो ।

विज्ञान शिक्षा र प्रयोगात्मक सिकाइबाट बालबालिकाले भविष्य निर्माण गर्न सक्ने बताउँदै उहाँले प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारीमार्फत प्रविधि, पूर्वाधार र अवसर विस्तारमा प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले आगामी आर्थिक वर्षदेखि विद्यालयको भौतिक स्तरोन्नतीका लागि ५ लाख रुपियाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै आवश्यक परेमा थप ५ लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै, दिवङ्गत जेठा छोरा देवेन्द्र थापाको स्मृतिमा विद्यालयमा १ लाख रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा पनि मन्त्री थापाले गर्नु भयो ।

कार्यक्रममा सहारा युकेका महासचिव क्याप्टेन पिताम्बर गुरुङको ५० हजार रुपियाँ सहयोगमा उपलब्ध प्रोजेक्टरको उद्घाटन गरिएको थियो।

पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा विनियोजित १ लाख रुपियाँ बजेटबाट खरिद गरिएका फर्निचर तथा वडा नं. ९ को सहयोगमा ६० हजार रुपियाँ बराबरको साउण्ड सिस्टम विद्यालयलाई हस्तान्तरण गरियो।

उक्त साउण्ड सिस्टम खरिदका लागि अपुग रहेको २० हजार रुपियाँ सनराइज ड्राइभिङ सेन्टरका सञ्चालक एवम् समाजसेवी राजु लालचनले सहयोग गर्नु भयो ।

विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई शिक्षामा पहुँच दिन विद्यालयले खेलेको भूमिकाबारे जानकारी दिँदै सबै सहयोगदातालाई धन्यवाद व्यक्त गर्नु भयो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिको साक्षी हुन पाउँदा खुशी लागेको बताउनु भयो ।

वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले स्थानीय सरकारको सहयोगले विद्यालयको विकासमा टेवा पुगेको भन्दै आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता जनाउनु भयो ।

नागरिक समाजका अगुवा एवम् अधिकारकर्मी रामप्रसाद सुवेदीले गैरसरकारी संस्थाहरूले शिक्षामा उल्लेखनीय योगदान दिँदै आएको भन्दै सरकारले उनीहरूलाई एकजुट पार्न इच्छाशक्ति देखाउनुपर्ने धारणा राख्नु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले कार्यक्रमको सफलताका लागि योगदान दिने सबैलाई धन्यवाद दिँदै प्रदेश सरकारले पहिलो पटक विद्यालयका लागि ‘रातो किताब’मा बजेट विनियोजन गर्नु सकारात्मक सङ्केत भएको बताउनु भयो ।

कार्यक्रममा सपना गुरुङद्वारा हस्तान्तरण गरिएको टेलिभिजन र अमर गुरुङद्वारा उपलब्ध गराइएको तातो–चिसो पिउने पानी शुद्धीकरण यन्त्रबापत दुवै दातालाई सम्मान गरिएको थियो।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Author

Related News