मधु पन्थी, पोखरा ।
देशैभर आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै छ । यसै अवसरमा गण्डकी प्रदेश सरकारले २०८२ असार २९ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यो विदा गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा लागु हुने जनाइएको छ ।
आचार्यको सम्झनामा विविध कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउन लागिएको हो । नेपाली साहित्यका धरोहर आचार्य तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मनु भएको थियो । उहाँको निधन १९२५ साल असोज ६ गते भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त रामायणका अनुवादकका रूपमा प्रख्यात हुनुहुन्छ ।
मोतिराम भट्टले उहाँलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिनु भएको थियो । आजपर्यन्त आचार्य नेपाली साहित्य आकाशमा आदिकविका रुपमा सुपरिचित हुनुहुन्छ । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ ।