पोखरा । द एसिया फाउण्डेसनको साझेदारीमा शक्ति समूह र न्यू एराको आयोजनामा नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अनुसन्धान अध्ययन प्रतिवेदनको प्रमाणीकरण तथा छलफलका लागि प्रदेशस्तरीय कार्यशाला २०८२ पुस ९ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको स्वागत मन्तव्य तथा उद्देश्य माथि प्रकाश पार्दै शक्ति समूहकी रणनीतिक तथा पैरवी निर्देशक चरीमाया तामाङले संस्थाले स्थापना कालदेखि नै मानव बेचबिखन विरुद्ध निरन्तर अभियान सञ्चालन गर्दै आएको बताउनु भयो ।
उहाँका अनुसार शक्ति समूहले रोकथाम, संरक्षण, जीविकोपार्जन, क्षमता अभिवृद्धि, वकालत तथा पैरवीका क्षेत्रमा केन्द्रित रहँदै काम गर्दै आएको छ ।
निर्देशक तामाङले कार्यशालाको मुख्य उद्देश्य अनुसन्धानबाट प्राप्त प्रारम्भिक नतिजाहरू सरोकारवाला निकायसमक्ष प्रस्तुत गर्ने, ती नतिजामाथि छलफल गर्ने तथा आवश्यक सल्लाह–सुझाव सङ्कलन गर्ने रहेको स्पष्ट पार्नु भयो ।
मानव बेचबिखन विरुद्धको अभियान सञ्चालन गर्दै आएका क्रममा शक्ति समूहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
कार्यक्रममा नेपालमा बालबालिका बेचबिखनसम्बन्धी अध्ययनका प्रारम्भिक नतिजाबारे न्यू एराका प्रतिनिधि ज्योति मानन्धर र डा. जीवन बानियाले संयुक्त रूपमा प्रस्तुति दिनु भएको थियो ।
यस्तै, पछिल्लो राजनीतिक परिवेश र अस्थिरताले बालबालिकासम्बन्धी सेवा प्रवाहमा पारेको असरबारे शक्ति समूहकी संस्थापक सदस्य चरीमाया तामाङले अलग प्रस्तुति दिनु भएको थियो ।
खुला छलफल तथा सल्लाह–सुझाव सङ्कलन सत्रमा सरोकारवाला निकायका प्रतिनिधि, लाभग्राही, प्राज्ञिक व्यक्तित्व, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा कानूनी व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो ।
शक्ति समूहकी सचिव मुना तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परियोजना अधिकृत विवेक शर्माले गर्नु भएको थियो ।
मानव बेचबिखनबाट प्रत्यक्ष प्रभावित व्यक्तिहरूद्वारा स्थापित तथा सञ्चालित शक्ति समूह विश्वकै पहिलो सामाजिक संस्था रहेको उल्लेख गरिएको छ ।