रुद्र बहादुर खड्का, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा २५८ औँ विजयोत्सव आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा मनाइएको छ ।
कमलामाई नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री बानियाँले सिन्धुलीगढी नेपाली पहिचान, पुर्खाको वीरता र गौरवसँग जोडिएको इतिहास भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्नधमा प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मुख्यमन्त्रीले बहुजाति, बहुभाषिक र विविध सांस्कृतिक स्वरूपले भरिएको समावेशी नेपाल आजको आवश्यकता भएको बताउँदै, ऐतिहासिक सम्पदाको संरक्षणका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजनमा जोड दिने आश्वासन दिनु भयो ।
उहाँका अनुसार, जनताको बलिदान र सङ्घर्षबाट निर्मित संविधानले तीन तहको सरकारमार्फत नागरिकलाई अधिकार दिएको र गणतन्त्र व्यवस्थाले गरिबलाई सक्षम बनाउने लक्ष्य बोकेको छ ।
हालैको जेन्जी आन्दोलनबारे बोल्दै मुख्यमन्त्री बानियाँले राजनीतिक दलहरूको अस्थिरता तथा आत्मसमालोचनाको अभावले यस्तो स्थिति सिर्जना भएको तर जेन्जीहरूको मूल माग भने भ्रष्टाचारमुक्त शासन र स्थिरता भएको बताउनु भयो ।
उहाँले आन्दोलनको क्रममा आपराधिक समूहले पर्दा पछाडिबाट राष्ट्रिय सम्पत्तिमाथि आक्रमण गरेको देखिएकाले यस्ता कृत्य कानुनी दायरामा ल्याउन आवश्यक रहेको धारणा राख्नु भयो ।
पर्यटन प्रवर्धनतर्फ ध्यान खिच्दै उहाँले सिन्धुलीगढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षण केन्द्र भएकाले यसको पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तरता दिने बताउनु भयो ।
पर्यटन विकासका लागि बाल–उद्यान निर्माण तथा अन्य संरचना विस्तार गर्नुपर्नेमा पनि जोड दिनु भयो ।
सिन्धुलीमा विजयोत्सव मनाउने प्रचलन २०६७ साल कात्तिक २४ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले सुरु गरेको हो ।
स्थानीय तह गठन भएपछिदेखि कमलामाई नगरपालिकाले यो उत्सव हरेक वर्ष आयोजना गर्दै आएको छ ।
विक्रम सम्बत १८२४ मा कप्तान किनलक नेतृत्वको आधुनिक हतियारसहितको अङ्ग्रेज सेना काठमाडौँ कब्जा गर्न सिन्धुलीगढी पुगेको थियो ।
गोर्खाली सेनाका वंशु गुरुङ नेतृत्वका सुरवीरहरूले अङ्ग्रेज सेनालाई पराजित गरेपछि सिन्धुलीगढी ऐतिहासिक विजयको प्रतीक बनेको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिनु भयो ।
नगर प्रमुख पोखरेलका अनुसार नगरपालिका स्रोत र सहयोगमार्फत सिन्धुलीगढीको संरक्षणमा निरन्तर काम भइरहेको छ ।
पर्यटन प्रवर्धनका लागि चियाबारीदेखि ढुँग्रेभञ्ज्याङसम्म ऐतिहासिक पदमार्ग निर्माण गर्ने योजनासमेत उहाँले सार्वजनिक गर्नु भयो ।