पोखरा । “व्यवसाय प्रवर्धन, समृद्ध कास्की निर्माण हाम्रो अभियान” भन्ने नारासहित २०७५ सालमा स्थापित पोखरा चेम्बर अफ कमर्स, कास्कीको सातौँ वार्षिक साधारणसभा तथा सम्मान समारोह २०८३ साउन ३० गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायी तथा उद्योगीका विचार, अपेक्षा र सुझाव सुन्ने अवसर प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै प्रदेशको आर्थिक विकास, लगानी प्रवर्धन, उद्यमशीलताको विकास र निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले संस्थाले सञ्चालन गरेका गतिविधि तथा आगामी योजना र कार्यक्रममार्फत कास्कीको व्यापार-व्यवसायको विगत र वर्तमान अवस्थाको चित्रण गर्दै उद्योग, व्यापार, व्यवसाय तथा निजी क्षेत्रलाई सकारात्मक दिशानिर्देश गर्न सहयोग पुर्याएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले लगानी प्रवर्धनका लागि निजी क्षेत्र, सार्वजनिक-निजी साझेदारी, सहकारी साझेदारी तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो ।
निजी क्षेत्रका चासो र चिन्तालाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण निर्माण तथा नीतिगत सहजताका लागि प्रदेश सरकारले निरन्तर सहजीकरण गर्दै आएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्यद्वय निर्मला लम्साल र गोपाल भट्टराई, नेपाली कांग्रेस कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, नेकपा एमाले कास्कीकी उपसचिव सन्तुदेवी सुवेदी, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्र, श्रम कार्यालय गण्डकी प्रदेशका प्रमुख अम्बिका शर्मा, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशका प्रमुख रुद्रबहादुर खत्री तथा संस्थाका सल्लाहकार माधव बास्तोला र योगेन्द्रबहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उहाँहरूले अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन व्यवसायीलाई राज्यले पूर्णरूपमा सहयोग गर्नुपर्नेमा जोड दिँदै व्यवसायी पनि राज्यका महत्वपूर्ण अङ्ग हुन् भन्ने अनुभूति हुने गरी सहकार्यको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

साधारणसभामा महासचिव गोकर्ण अधिकारीले संस्थाको प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष जीवन ढुङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
छलफलपछि दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको सचिव सरिता सुवेदीले जानकारी दिइन् । समारोहमा विभिन्न विधामा योगदान पुर्याउने १२ जनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा हिमश्री फुड्सका अध्यक्ष प्रकाश केसी, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्र, नबिल बैङ्क गण्डकी प्रदेशका प्रमुख श्रीप्रसाद शिवाकोटी, पोखरा भिलेज रिसोर्टका अध्यक्ष हरि शर्मा गैरे, माछापुच्छ्रे मावि सार्दीखोलाका प्रधानाध्यापक सन्तोष आचार्य, जय देउराली कृषि फर्मका सञ्चालक वृन्दा पङ्गेनी तिवारी, लाइफ केयर डाइनेस्टिक सेन्टरका कार्यकारी प्रमुख गोकर्ण क्षेत्री, उत्कृष्ट कार्यसमिति सदस्य रामजी थापा, उत्कृष्ट कार्यसम्पादनतर्फ कार्यसमिति सदस्य दुर्गा श्रेष्ठ, उत्कृष्ट इकाइतर्फ सेन्टर इकाइका अध्यक्ष शम्भु अधिकारी, पोखरा टेलिभिजनकी पत्रकार बिना थापामगर र कार्यालय सचिव सरिता सुवेदी रहनुभएको छ ।
पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष उमराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वतमान अध्यक्ष यामनाथ पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महासचिव गोकर्ण अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।