मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रदेश प्रमुख भट्टद्वारा तमु ल्होसारको शुभकामना

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछार/ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

२०८२ पुस १५ गते जारी शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख भट्टले सर्प वर्ग (सही ल्हो) को अन्त्य भई घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा प्रदेश प्रमुख भट्टले नेपालको सांस्कृतिक परम्पराको संरक्षण र संवर्द्धन तथा पर्यटन प्रवर्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ (तमु) समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

तमु ल्होछार/ल्होसार जस्ता पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

गुरुङ समुदायले हरेक वर्ष पुस १५ गते तमु ल्होसार पर्व मनाउँदै आएको छ। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागतस्वरूप मनाइने यस पर्वमा यस वर्ष त ल्हो (घोडा वर्ग) को तमु ल्होसार मनाइँदै छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । गुरुङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा सांस्कृतिक झाँकी, पूजा, नृत्य र भेषभूषासहित भव्य रूपमा मनाउने चलन छ ।

तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व मानिन्छ । गुरुङ बाहुल्य रहेको गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप छिटो पुग्ने भएकाले पुस १५ गते यो पर्व मनाइने गरिएको विश्वास छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास भएका क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाइने परम्परा रहेको छ ।

नेपाल सरकारले पछिल्ला वर्षहरूमा तमु ल्होसार पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने व्यवस्था गर्दै आएको छ ।

Author

Related News