मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

अधिकारको संरक्षण र न्यायपूर्ण समाज आजको आवश्यकता

पोखरा । “मानव अधिकारः हाम्रो दैनिक आवश्यकता” भन्ने राष्ट्रिय नारा सहित १७ औँ मानव अधिकार महाभेला-२०८२ तथा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस-२०२५ को अवसरमा पोखरामा तीन दिने कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकार, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय, गैरसरकारी संस्था महासङ्घ नेपाल तथा मानव अधिकार क्षेत्रमा सक्रिय विभिन्न सामाजिक सङ्घसंस्थाहरूको संयुक्त आयोजना रहेको कार्यक्रम २०८२ मङ्सिर २४ गते गरिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको महाभेलामा पहिलो दिन खुला रक्तदान कार्यक्रम, दोस्रो दिन मानवअधिकार सचेतना तथा मानवअधिकार रक्षक दिवस मनाइयो ।

तेस्रो दिन प्रभातफेरी तथा ‘मानव अधिकार र आम निर्वाचन’ विषयक अन्तरपुस्ता संवादलगायत कार्यक्रम आयोजित गरिएको छ ।

मङ्सिर २४ गते बिहान मानवअधिकार चोकबाट सुरू भएको प्रभातफेरी चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभातफेरी समापन कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR) को स्मरणमा यो दिवस नेपालमा पनि मनाउँदै आएको बताउनु भयो ।

अधिकारको जग बलियो, अभ्यास अझै अपूर्ण !

मानवअधिकार केवल बहसको विषय नभई कर्तव्य र व्यवहारमा रुपान्तरणको आवश्यकतासहित लागू हुनुपर्ने बताउँदै उहाँले भन्नु भयो-“मानव अधिकारको कुरा लामो समयदेखि गरिँदै आएको छ, तर अधिकारसँगै कर्तव्यबोध पनि उत्तिकै महत्वपूर्ण छ । मानवले मानवसँग गर्ने व्यवहार फेरिनुपर्छ ।”

गण्डकी प्रदेशका १३ अदालत (२ उच्च र ११ जिल्ला) मार्फत प्रदान हुने सेवा सहज, न्यायिक र जटिलतारहित बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उहाँले सेवाप्रवाहमा कर्मचारी, न्यायाधीश वा कसैले पनि अवाञ्छित गतिविधि वा लापरबाही गरे कारबाही गरिने चेतावनी दिनु भएको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै गण्डकी प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तुलबहादुर कार्की, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका उपसचिव सुरणकुमार पौडेल, गैसस महासङ्घका केन्द्रीय सदस्य गोपाल खड्का, मानव अधिकार एलायन्सका पदमराज पहारी तथा संयोजक प्रमिला तझ्याले मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी सहकार्य र साझा प्रतिबद्धताका साथ ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै आएको बताउनु भएको थियो ।

कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नितु गर्तौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले स्वागत तथा कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन इन्सेकका प्रदेश संयोजक गणेश भण्डारीले गर्नु भएको थियो ।

प्रभातफेरी तथा कार्यक्रममा सरकारी कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक सङ्घसंस्था, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।

Author

Related News