मधु पन्थी, पोखरा ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसीले पृथ्वीको संरक्षण सबै मानवको पहिलो दायित्व भएको बताउँदै जलवायुसम्बन्धी विषयवस्तु पाठ्यक्रममै समावेश गरिनुपर्ने धारणा राख्नु भयो ।
“पृथ्वी हाम्रो घर हो, यसको तापक्रम वृद्धिसँगै संरक्षणको चुनौती बढ्दो छ। त्यसैले हरेक नागरिक जिम्मेवार बन्नुपर्छ । पृथ्वीको संरक्षणको हाम्रो पहिलो दायित्व हो । ” उहाँले भन्नु भयो ।
जलवायु परिवर्तनको सन्दर्भमा सञ्चारकर्मीहरूसँग गहन संवाद गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा तथा मेची–महाकाली मिडिया सोसाइटी नेपालको आयोजनामा जलवायु संवाद कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले वातावरणीय विषयमा कलम चलाउन लेखनवृत्ति कार्यक्रम र तालिम सञ्चालन गरिने जानकारी दिँदै भन्नु भयो-“जलवायु परिवर्तन नजिकको विषय हो, यसबारे संवाद र लेखनमा संलग्नता अत्यावश्यक छ ।”
कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पुर्णेश्वर सुवेदीले प्रदेश सरकारको भूमिका र योजनाबारे बोल्नु भयो ।
यस्तै अर्जुन ढकालले जलवायु सङ्कट र आर्थिक विकासबीचको सम्बन्धबारे, डा. भेषराज अधिकारीले जलवायु परिवर्तनले खाद्य सुरक्षामा पार्ने प्रभावबारे, अजय कार्कीले जैविक विविधता संरक्षण र जलवायु सङ्कटको अन्तरसम्बन्धबारे सहजीकरण गर्नु भयो ।
संविधानसभा सदस्य तथा हिमाल बचाउ अभियन्ता डिलबहादुर नेपाली, एक्याप प्रमुख डा. रबिन कडरिया, गण्डकी प्रदेश वातावरण महाशाखाका उपसचिव शिवप्रसाद श्रेष्ठ, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, सहसचिव अजय कार्की, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, तथा गैरसरकारी संस्था महासङ्घका निवर्तमान अध्यक्ष रामप्रसाद सुबेदीले जलवायु परिवर्तनका बहुआयामिक असरबारे धारणा राख्नु भयो ।
उहाँहरूले असमयमा वर्षा, खाद्य उत्पादनमा ह्रास जस्ता समस्याको समाधानका लागि तीन ओटै तहका सरकारहरूले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनु भएको थियो ।
मेची महाकाली मिडिया सोसाइटी नेपालका अध्यक्ष माधव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पुण्यप्रसाद पौडेल र सञ्चालन एभरेस्ट मिडियाका प्रवन्धक दिपेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।