मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नगरको नीति र कार्यक्रम अनुसार शिक्षामा प्राथमिकता: उपप्रमुख देवकोटा

रुद्रबहादुर खड्का, सिन्धुली

कमलामाई नगरपालिका वडा नं. ९ भीमानस्थित श्री जनजागृति माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि कमलामाई नगरपालिका सिन्धुलीकी उपप्रमुख मञ्जु देवकोटाले स्थानीय सरकारको नीति तथा कार्यक्रमअनुसार शिक्षाको क्षेत्रमा विशेष प्राथमिकता दिइएको बताउनु भयो ।

उहाँले स्थानीय तहभित्र रहेका विद्यालयका समस्या र चुनौतीहरूलाई नजिकबाट नियाल्दै ती समस्याको समाधान गर्नु स्थानीय सरकारको दायित्व भएको स्पष्ट पार्नु भयो ।

उपप्रमुख देवकोटाले कमलामाई नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ देखि शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन विभिन्न कार्यक्रमहरू तर्जुमा गरिएको जानकारी दिनु भयो ।

नगरको नीति, कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए मात्र शिक्षाको विकास सम्भव हुने उल्लेख गर्दै त्यसका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

कम विद्यार्थी सङ्ख्या भएका विद्यालयहरू मर्ज गर्ने र विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी थप गर्ने योजना नगरपालिकाको रहेको उहाँले बताउनु भयो ।

नगरपालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने कार्यपालिकाको निर्णय नगरसभाबाट स्वीकृत भई कार्यान्वयनमा रहेको पनि उहाँले जानकारी दिनु भयो ।

उहाँले बाल विकास सहजकर्ता तथा विद्यालयमा कार्यरत कर्मचारीहरूको न्यूनतम मापदण्डअनुसार तलबभत्ताको व्यवस्था गरिने र आवश्यकता अनुसार सामुदायिक विद्यालयका भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रत्येक विषयका शिक्षकले उपलब्धिमूलक शिक्षण–सिकाइमा ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष विनोद प्रधानले विद्यालयलाई शान्ति क्षेत्रका रूपमा कायम गर्दै राजनीतिक गतिविधि रोक्न आग्रह गर्नु भयो ।

उहाँले विद्यालयमा गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै हरेक वर्ष शैक्षिक सुधारका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिनु भयो ।

विद्यालयमा शुद्ध खानेपानीको चरम अभाव रहेको उल्लेख गर्दै समाधानका लागि पहल भइरहेको उहाँको भनाइ थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक डम्बरबहादुर दाहालले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी गराउँदै भवन निर्माणका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा विद्यालयका लेखापाल नन्दबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कमलामाई नगरपालिका शिक्षा शाखाका उपनिर्देशक नवराज बरालले विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध भए मात्र शैक्षिक गुणस्तर उकास्न सकिने धारणा राख्नु भयो ।

विद्यालयका पूर्वविद्यार्थी समाजका संयोजक रमेशकुमार देवकोटाले पूर्वविद्यार्थी समाज गठन गरी एक करोड रुपियाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिनु भयो ।

सो अक्षयकोषको ब्याजबाट गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा विद्यालयमा उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक–शिक्षिका, कर्मचारी, पूर्व शिक्षकहरूलाई सम्मान गरिनुका साथै अतिरिक्त क्रियाकलाप तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

२०२७ माघ २ गते स्थापना भएको यस विद्यालयमा हाल ३८ जना शिक्षक–कर्मचारी कार्यरत छन् भने नर्सरीदेखि कक्षा १२ सम्म ८ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा पूर्व पदाधिकारी, अभिभावक, पूर्व शिक्षक, जग्गादाता, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Author

Related News