पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली समाजमा प्रचलित संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्नु सबै नेपालीको साझा र प्रमुख कर्तव्य भएको बताउनु भएको छ ।
२०८२ सालको तिहार तथा शुभ दीपावलीको अवसरमा २०८२ कात्तिक ३ गते जारी शुभकामना सन्देशमा मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ-“काग तिहारबाट सुरु भएर भाइटीकाको दिनसम्म मनाइने तिहार पर्वमा लक्ष्मी माताको आराधना, दीर्घायु, समृद्धि र खुसियालीको प्रतीकका रूपमा विविधता बीचको एकतालाई अझ सुदृढ र मजबुत बनाउने सन्देश रहन्छ ।”
मुख्यमन्त्री पाण्डेले तिहार पर्वले प्रकृति, मानव जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको स्नेह र अपनत्वलाई अझ प्रगाढ बनाउने बताउनु भएको छ ।
उहाँका अनुसार पौराणिक, सांस्कृतिक, मनोवैज्ञानिक र वैज्ञानिक दृष्टिले पनि तिहार पर्वले प्रेरणाको बिम्ब प्रस्तुत गर्दै उज्यालो, सद्भाव र सकारात्मकताको सन्देश दिन्छ ।
तिहारको मुख्य उद्देश्य देउसीभैलो खेल्ने परम्परामार्फत आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भन्नु भएको छ-“यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोश र जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासी’ भन्ने संकल्प पूरा गर्न प्रेरणा प्रदान गर्नेछ ।”
मुख्यमन्त्री पाण्डेले तिहार पर्वले सम्पूर्ण नेपालीमा उत्तरोत्तर प्रगति, समृद्धि र उज्यालो भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको छ ।
