मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौडको तयारी तिव्र, अनलाइनमार्फत दर्ता सुरु

पोखरा । विश्व पर्यटन दिवस (असोज ४) को अवसरमा हुने दोस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने प्रतियोगिताबारे जानकारी २०८२ भदौ २ गते पोखरामा पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

विश्वशान्ति स्तुपाबाट सुरु भई पुम्दीकोट विशाल महादेव मूर्ति परिक्रमा गर्दै कालाबाङ घरेडीस्थित बुद्ध पार्कमा सकिने प्रतियोगितामा ८ किलोमिटर दूरी समावेश गरिएको छ ।

प्रतियोगिता खुला, वडास्तरीय, महिला, १६ वर्ष मुनिको, पर्यटनतर्फ र ४० वर्ष माथिका भेट्रान गरी ६ विधामा सञ्चालन हुने संयोजक दीननाथ बरालले जानकारी दिनु भयो ।

गत वर्षको तुलनामा पुरस्कार रकम दोब्बर गरिएको छ । खुला पुरुषतर्फ प्रथम हुने धावकले ५० हजार रुपियाँ नगद पाउनेछन् ।

दोस्रोदेखि पाँचौँसम्मका लागि ३० हजारदेखि ३ हजार रुपियाँसम्मका नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

वडास्तरीय, महिला र १६ वर्ष मुनितर्फका विजेताले १५ हजार रुपियाँ र उपविजेताले ७ हजार रुपियाँ पाउनेछन् ।

यस वर्ष थपिएको भेट्रान र विदेशी विधाका विजेतालाई जनही १५ हजार रुपियाँ प्रोत्साहन पुरस्कार दिइनेछ ।

खेलाडीहरूले २०८२ भदौ २५ गतेसम्म अनलाइन फारममार्फत नाम दर्ता गराउन सक्ने निर्देशक ओम लामाले बताउनु भयो । पहिलो संस्करणमा बेलायत र ब्राजिलसहितका ७९ खेलाडी सहभागी भएका थिए ।

प्रतियोगितामा करिब १६ लाख ९१ हजार रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्धन गरेका छन् भने गण्डकी प्रदेश खेलकुद परिषद्, विभिन्न पर्यटन, होटल व्यवसायी, सङ्घसंस्थाको सहयोग रहनेछ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बरालले आगामी वर्षहरूमा यसलाई हाफ म्याराथनसम्म विस्तार गर्ने योजना रहेको बताए। पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले प्रतियोगितालाई लेकसाइडदेखि पञ्चासेसम्मको म्याराथनमा रूपान्तरण गर्न सुझाव दिए।

अन्तर्राष्ट्रिय म्याराथन धावक ल्याफ्टेनेन्ट कुसाङ गुरुङले प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गरेका छन्।

Author

Related News