पोखरा । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ नवआदर्श सामुदायिक विकास समाज लामाचौरले २७ औं संस्करणको लामाचौर तीज महोत्सव–२०८२ आयोजना गर्ने भएको छ ।
संस्थाको २९ औं वार्षिकोत्सव तथा तीज अवसरमा भदौ ८ गतेदेखि १० गतेसम्म ईन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा महोत्सव हुने भदौ ४ गते भएको पत्रकार सम्मेलनमा अध्यक्ष दिनेश भण्डारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार संस्कृतिको संरक्षण र खेलकुदको विकासलाई उद्देश्य बनाइँदै महोत्सवलाई निरन्तरता दिइएको हो ।
यस वर्षको महोत्सवमा लामाचौर कप भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता प्रमुख आकर्षण हुनेछन् ।
प्रतियोगिताका पुरस्कार
- पुरुष भलिबल: विजेतालाई रु. ३ लाख, उपविजेतालाई रु. १ लाख ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु. १० हजार ।
- महिला (अन्तरमावि) भलिबल: विजेतालाई रु. १ लाख, उपविजेतालाई रु. ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु. ५ हजार ।
- तीज गीत प्रतियोगिता: प्रथमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार, तेस्रोलाई रु. २० हजार, सान्त्वनालाई रु. १० हजार, साथै सबै टिमलाई सहभागिता प्रोत्साहन स्वरूप रु. २ हजार ।
- लोक नृत्य प्रतियोगिता: प्रथम हुनेलाई रु. ४० हजार, दोस्रो हुनेलाई रु. २५ हजार, तेस्रो हुनेलाई रु. १५ हजार, तीन टिमलाई सान्त्वना तथा उत्कृष्ट भेषभूषालाई रु. ५ हजार ।
त्यसैगरी महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारहरूको दैनिक प्रस्तुति लगायत सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिनु भयो ।
महोत्सवबाट हुने बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष वृद्धिमा खर्च गरिने अर्थ सङ्कलन उपसमिति संयोजक कमल थापाले बताउनु भयो ।
नवआदर्श समाजले २०५४ सालदेखि लामाचौरमा महोत्सव आयोजना गर्दै आएको छ । संस्थाले एम्बुलेन्स, शववाहन सञ्चालन गर्नुका साथै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष स्वागतमान सिंह भण्डारी, नवीन भण्डारी, बुद्धिबहादुर खत्री क्षेत्री, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा र सचिव शोभा बानियाँलगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
महोत्सवका लागि अनुमानित खर्च रु. ४५ लाख रहने अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।