पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेश समितिको संयुक्त टोलीले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा बागलुङ र पर्वत जिल्लामा पूर्वतयारीको स्थलगत अनुगमन गरेको छ ।
टोलीले २०८२ फागुन १७ गते जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, चारै सुरक्षा निकायका प्रमुख तथा अधिकारकर्मीहरूसँग भेटघाट गरी तयारी अवस्थाबारे जानकारी लिएको हो ।
अनुगमन टोलीको नेतृत्व नियोक गण्डकी प्रदेश समिति संयोजक विष्णुप्रसाद बरालले गर्नुभएको थियो ।
बागलुङमा सुरक्षा र व्यवस्थापन तयारी पूरा
बागलुङका मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीका अनुसार मतदान केन्द्रहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी खटाइसकिएको छ ।
राजनीतिक दलहरूबिच समयसमयमा सर्वदलीय बैठक बसी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको र आचारसंहिता उल्लङ्घनका घटनाहरू न्यून रहेको जानकारी दिइयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा आवश्यक सुरक्षा तयारी पूरा भएको बताउनु भयो ।
उहाँका अनुसार फागुन १७ गतेदेखि कर्मचारीहरूले निर्वाचन सामग्री बुझ्ने र १९ गतेदेखि सम्बन्धित मतदानस्थलतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाइएको छ ।
मतदानस्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी तथा नेपाली सेनालाई आवश्यकताअनुसार परिचालन गरिने जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत नवराज बरालका अनुसार हालसम्म तीन लिखित उजुरी परेकोमा अनुसन्धान भइरहेको छ भने मौखिक उजुरीहरू समन्वयमार्फत सहजीकरण गरिएको छ ।
बागलुङ क्षेत्र नं. १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् ।
चार ओटा स्थानीय तहका ३७ ओटा वडामा ९८ हजार ४६ मतदाता, ४८ ओटा मतदानस्थल र १ सय १५ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनु भयो ।
यस्तै क्षेत्र नं. २ मा ६ ओटा स्थानीय तहमा ९५ हजार ३ सय ३५ मतदाता, १ सय १५ मतदान केन्द्र रहने रिजालले बताउनु भयो ।
क्षेत्र नं. २ को निर्वाचन अधिकृत भीमप्रसाद सुवेदी रहनु भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
पर्वतमा १७ उम्मेदवार चुनावी मैदानमा
पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलका अनुसार जिल्लामा एक निर्वाचन क्षेत्र रहेको छ, जहाँ चार स्वतन्त्रसहित १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा १५३ मतदानस्थल र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन् ।
उहाँका अनुसार फागुन २० गतेसम्म सबै मतदान सामग्री मतदान केन्द्रमा पुग्ने गरी तयारी भइरहेको छ ।
राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा सरोकारवाला निकायबीच समन्वयात्मक तयारी अघि बढेको र हालसम्म कुनै निर्वाचन-लक्षित घटना नभएको जानकारी दिइयो ।
निर्वाचन अवधिभर अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति नियमित राख्ने, मतदानको दिन सवारी साधन सञ्चालनका लागि पास व्यवस्थापन प्रभावकारी बनाउने, मनोरञ्जनात्मक व्यवसाय सञ्चालन समय निर्धारण गर्ने तथा मदिरा बिक्री-वितरणमा रोक लगाउने विषयमा सहमति जुटाइएको छ ।
नजिकिँदै गरेको होली पर्वलाई पारिवारिक दायराभित्र अनुशासित र मर्यादित रूपमा मनाउन पनि आग्रह गरिएको छ ।
प्रशासनले निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिएको जनाएको छ ।
स्वच्छ र मानवअधिकारमैत्री निर्वाचनमा जोड
नियोक गण्डकी प्रदेश समिति संयोजक बरालले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गर्नु भयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले २०४८ सालदेखि इन्सेकले निरन्तर निर्वाचन पर्यवेक्षण गर्दै आएको स्मरण गराउँदै आगामी निर्वाचन मानवअधिकारमैत्री वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले निर्वाचनअघि, मतदानको दिन तथा मतपरिणाम सार्वजनिक नहुँदासम्म प्रभावकारी अनुगमन जारी रहने जानकारी दिनु भयो ।
पत्रकार कमल पौडेल “अथक”ले पर्यवेक्षकहरू कुनै पनि दलको प्रचारप्रसारमा संलग्न नहुन, भ्रामक सूचना नफैलाउन तथा आचारसंहिता पालना गर्न सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनाले मतदाता असुरक्षित बन्न सक्ने भएकाले सम्बन्धित निकायले यसतर्फ विशेष ध्यान दिनुपर्ने सुझाव उहाँले दिनु भयो ।