रुद्रबहादुर खडका, ललितपुर ।
चुरे तथा वन-जङ्गल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ।
इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार २०८२ साउन १६ गते ललितपुरमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सम्पन्न भएको प्रकाश स्मृति दिवस तथा प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा यादवलाई नगद ५० हजार रुपियाँ, सम्मानपत्र तथा इन्सेकको प्रतीक चिन्ह प्रदान गरिएको हो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा. गौरीशङ्करलाल दासले वातावरणीय सङ्कटको सन्दर्भमा चुरे संरक्षण अभियन्ता पुरस्कृत हुनुभएकोमा खुशी व्यक्त गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुङ्गेलले मानव अधिकार र वातावरण संरक्षणमा समर्पित व्यक्तिहरूको योगदान अनुकरणीय रहेको उल्लेख गर्नु भयो ।

सुनिलकुमार यादव बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२, मौवाही निवासी हुनुहुन्छ । उहाँले २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा विभिन्न चेतनामूलक कार्यक्रम, अभियान तथा पैरवी गर्दै आइरहनु भएको कार्यक्रममा जानकारी दिइएको छ ।
पुरस्कार ग्रहण गर्दै यादवले २०७४ सालमा वातावरणीय सङ्कटको परिकल्पना गर्दै संरक्षण अभियान आरम्भ गरेको स्मरण गर्नु भयो ।
इन्सेकले २०८२ साउन ११ गते इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन-जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गर्ने निर्णय गरेको जनाएको थियो ।

फोटोः इन्सेक