मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेकपाका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको आग्रह

रुद्रबहादुर खड्का, सिन्धुली ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले सिन्धुली जिल्लाका दुबै निर्वाचन क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता-कार्यकर्तालाई एकढिक्का भएर लाग्न आग्रह गर्नुभएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–माडीमा २०८२ माघ २४ गते आयोजित अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन) लाई ‘तार’ चुनाव चिन्हमा मतदान गरी जिताउन अपिल गर्नु भयो ।

राजन दाहालको प्रशंसा गर्दै प्रचण्डले उहाँ सिन्धुलीको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै परिचित नेता भइसकेको बताउनु भयो ।

संसदमा उठाएका विषय, जिल्लामा नागरिकसँग प्रत्यक्ष सम्पर्क गर्दै गरेका सेवामूलक कार्य तथा समृद्ध सिन्धुली निर्माणका लागि गरेका पहलले उहाँको चर्चा व्यापक बनेको उहाँको भनाइ थियो ।

“राजन दाहाल विकास, सुशासन र आम नागरिकको हितमा काम गर्ने नेता हुनुहुन्छ । त्यसैले आगामी निर्वाचनमा उहाँलाई भारी मतले विजयी गराउन म सम्पूर्ण जिल्लाबासीलाई आग्रह गर्दछु ।”-प्रचण्डले भन्नु भयो ।

पार्टीभित्र केही समस्या आएको भन्ने बाहिर चर्चा भए पनि भित्री रूपमा सबै एकजुट रहेको उल्लेख गर्दै उहाँले सिन्धुली कम्युनिष्ट आन्दोलनको लालकिल्ला भएको दाबी गर्नु भयो ।

“यस पटक पनि जिल्लाका दुबै क्षेत्रमा नेकपाका उम्मेदवारलाई विजयी गराएर पठाउनुपर्छ ।”-उहाँले जोड दिनु भयो ।

अहिलेको निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक र विशेष परिस्थितिमा हुन लागेको बताउँदै प्रचण्डले पार्टीभित्र भएका कमजोरीलाई बिर्सेर सबै नेता-कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उम्मेदवार वा पार्टीभित्र केही कमजोरी भए आत्मआलोचनासहित सुधार गर्नुपर्ने उल्लेख गर्दै उहाँले निर्वाचनमा कुनै बहानामा पार्टीका उम्मेदवारलाई असहयोग गर्नु लोकतन्त्र र गणतन्त्रलाई कमजोर पार्नु सरह हुने चेतावनी दिनु भयो ।

Author

Related News