मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्की-२ मा रास्वपाका पौडेल विजयी

पोखरा । प्रतिनिधिसभा सदस्यमा कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल भारी मतान्तरसहित विजयी हुनु भएको छ ।

अन्तिम मतपरिणामअनुसार पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गर्नु भएको छ । पौडेलले २४ हजारभन्दा बढी मतान्तरले विजय हासिल गर्नु भएको हो ।

यस क्षेत्रमा कुल ५२ हजार ५ सय १९ मत खसेको थियो । त्यसमध्ये पौडेलले करिब ६० प्रतिशत मत प्राप्त गर्नु भएको छ । कास्की-२ मा कुल ८४ हजार १ सय ३४ मतदाता रहेका थिए भने १ हजार ८ सय ४४ मत बदर भएका छन् ।

यसअघि भएका निर्वाचनहरूमा एमालेका लोकप्रिय नेता स्व. रवीन्द्र अधिकारी र पछि उहाँकी पत्नी विद्या भट्टराईले लगातार विजय हासिल गर्दै आउनु भएको थियो । यसपटक भने रास्वपाले एमालेको परम्परागत बलियो आधार तोड्दै निर्णायक जित निकालेको छ ।

यहाँ नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५ सय मत प्राप्त गर्नु भएको छ । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमजङ्ग गुरुङले १ हजार ६ सय ४३, नेकपाका हेमबहादुर थापाले १ हजार २ सय ७६ र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २७ मत प्राप्त गर्नु भएको छ ।

अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको मत भने न्यून रहेको जनाइएको छ । यस क्षेत्रमा कुल १२ दल र पाँच स्वतन्त्र उम्मेदवारसहित १७ जना प्रतिस्पर्धामा थिए ।

Author

Related News