पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा मनोहरि पौडेलले कार्यसमिति सदस्य खुला पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
२०८३ भदौ २० र २१ गते हुने महाधिवेशनमा सदस्य पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गर्दै पौडेलले आफू निर्वाचित भए सङ्घको संस्थागत सुदृढीकरण, उद्योगी-व्यवसायीको हकहित संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
व्यवसायिक क्षेत्रमा सक्रिय पौडेल बुद्ध विशाल बजारस्थित टुइन्स कलेक्सनका सञ्चालक हुनुहुन्छ । उहाँ हाल बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।
पौडेल सामाजिक तथा धार्मिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । उहाँ त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति, पोखरा-२८ का अध्यक्ष, शीतल ज्योति युवा क्लब, पोखरा-१२ का सल्लाहकार तथा सुर्केमैदान सिर्जनशील क्लब, पोखरा-२८ का संस्थापक अध्यक्ष हुनुहुन्छ ।
पौडेलले पोखरा उद्योग वाणिज्य सङ्घका विभिन्न वस्तुगत समितिमा प्रेस सल्लाहकारको भूमिकासमेत निर्वाह गर्दै आउनुभएको छ ।
पत्रकारिता क्षेत्रमा समेत सक्रिय पौडेल नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश परिषद् सदस्य तथा नेपालय नेटवर्क डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।
हाल पोखरा उद्योग वाणिज्य सङ्घको मनोनीत कार्यसमिति सदस्य रहनुभएका पौडेलले सङ्घभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
विशेषगरी सङ्घद्वारा आयोजित औद्योगिक व्यापार मेलामा उहाँले प्रचारप्रसार संयोजकको जिम्मेवारी निर्वाह गर्दै मेलाको प्रचारप्रसारलाई प्रभावकारी बनाउन योगदान दिनुभएको थियो ।
सङ्घमा प्राप्त अनुभव, व्यावसायिक नेतृत्व, सामाजिक सक्रियता तथा संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले खुला कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको पौडेलले बताउनुभएको छ ।
निर्वाचित भए उद्योगी व्यवसायीको हकहित संरक्षण, सङ्घको संस्थागत विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका साझा मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने उहाँको प्रतिबद्धता छ ।
व्यवसाय, सामाजिक सेवा, धार्मिक तथा सञ्चार क्षेत्रमा हासिल गरेको अनुभवलाई सङ्घको संस्थागत विकास, उद्योगी व्यवसायीका साझा मुद्दाको प्रभावकारी पैरवी र निजी क्षेत्रको सशक्तीकरणमा उपयोग गर्ने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको पौडेलले बताउनुभएको छ ।