पोखरा । २०७२ र २०७३ सालमा शिक्षा मन्त्रालयबाट ‘उत्कृष्ट सामुदायिक क्याम्पस’ का रूपमा राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको तथा विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र हासिल गरेको पोखरा महानगरपालिका–८ स्थित जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिको नयाँ कार्यकाल (३ वर्ष) का लागि २०८२ मङ्सिर २६ गते सम्पन्न भएको मतदानको मतगणनासहित टुङ्गिने भएको छ ।
अध्यक्ष पदका लागि बिष्णुप्रसाद बराल र राजेन्द्र पहारीबिच तीव्र प्रतिस्पर्धा भएको जनाइएको छ ।
११ सदस्यीय कार्यसमितिका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा हेमबहादुर थापा पराजुली, लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, गणेशबहादुर अधिकारी, नम्रता बराल, गिरीराज चालिसे, महेन्द्र बस्नेत, कमलादेवी गिरी, ईन्द्रप्रसाद पौडेल, ई. शारदामोहन काफ्ले, बलराम बराल, राधिका रेग्मी सिग्देल, विश्वकुमार बिजुक्छे र पदमबन्धु पोखरेल रहनु भएको छ ।
कार्यसमितिको बैठकबाट उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिनेछ भने सदस्य–सचिवमा क्याम्पस प्रमुख रहने व्यवस्था छ ।
निर्वाचनका लागि तोकिएको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म थियो । ५ सय १६ जना मतदातामध्ये ३ सय ८६ मत खसेको निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालले जानकारी दिनु भयो ।
खसेका मतसहितका मतपेटिका वडा प्रहरी कार्यालय, बैदाममा राखिएको छ भने मङ्सिर २७ गते बिहान ८:३० बजेदेखि मतगणना सुरु हुनेछ ।

क्याम्पसको ३४औँ वार्षिकोत्सव तथा १०औँ अधिवेशन उद्घाटन
जनप्रिय क्याम्पसले ३४औँ वार्षिकोत्सव, २७औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन मङ्सिर २५ गते एक विशेष समारोहका बीच उद्घाटन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त सदस्य–सचिव प्रा.डा. ज्ञानबहादुर थापाले सामुदायिक क्याम्पसहरूको भूमिका मुलुकको उच्च शिक्षाको विकासमा अतुलनीय रहेको उल्लेख गर्नु भयो ।
उहाँले शिक्षालाई व्यवहारिक ज्ञान, उत्पादन, आचरण र संस्कारसँग जोडिनुपर्नेमा जोड दिनु भयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले विद्यार्थी भर्नादरमा केही कमी आए पनि क्याम्पसले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरेको बताउनु भयो ।
चुनौतीहरू भए पनि जनप्रियलाई ‘मानित विश्वविद्यालय’ बनाउने लक्ष्यप्रति आफूहरू दृढ रहेको उहाँको भनाइ थियो ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले स्वायत्त कार्यक्रमअन्तर्गत नेपालमै पहिलोपटक स्नातकतहमा ‘पर्वतीय पर्यटन व्यवस्थापन’ र ‘एमबीए इन हस्पिटालिटी म्यानेजमेन्ट’ सहित १३ ओटा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार इन्द्रबहादुर कुँवर, कालिका बहुमुखी क्याम्पसका प्रमुख विरञ्जी गौतम, अखिल क्रान्तिकारीका उत्सव भुसाल, नेपाल विद्यार्थी सङ्घका सुजन भट्टराई, अनेरास्ववियुका प्रमोद रिजाल, प्राज्ञिक विद्यार्थी परिषद्का प्रेम थापालगायतका वक्ताले शाखालाई सुरक्षित राख्दै क्याम्पसको निरन्तर प्रगतिको आवश्यकता औंल्याउनु भयो ।
सम्मान तथा पुरस्कार वितरण
क्याम्पसको ३३ वर्षे इतिहासमा पहिलोपटक ‘क्याम्पस गीत’ निर्माण गर्ने कवि तथा गीतकार तीर्थ श्रेष्ठ र सो गीतमा स्वर तथा सङ्गीत भर्ने गायक कर्णदासलाई विशेष सम्मान गरिएको थियो ।
उत्कृष्ट कार्यसम्पादन गर्ने उप–प्राध्यापक गोपालप्रसाद बराल र कर्मचारी कल्पना गुरुङलाई नगद, कदरपत्र र दोसल्लासहित सम्मान गरियो ।
संस्थापक प्रमुख गणेशमान पालिखोको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट कर्मचारी गीता काफ्ले सम्मानित हुनु भयो ।
त्यसैगरी, क्याम्पसका पूर्वविद्यार्थी तथा संस्थापक स्ववियु सदस्य अमृत क्षेत्रीलाई पनि सम्मान प्रदान गरिएको थियो ।
विभिन्न खेल तथा सांस्कृतिक प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
क्याम्पसमा प्रातः र दिवा सत्र गरी ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । समारोह क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख नवीनराज खनालले गरेका थिए ।