पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिएसँगै कास्की जिल्लामा निर्वाचन तयारी तीव्र पारिएको छ ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कास्कीमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण तालिम पोखरा-८, जनप्रिय क्याम्पसमा सञ्चालन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले उद्घाटन सत्रमा कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्रमा निष्पक्ष र कानुनी अधिकार अनुसार काम गर्न आग्रह गर्दै भन्नु भयो-“हाम्रो काममा कुनै राजनीतिक रङ देखिनु हुँदैन। उल्लङ्घन भए कानुनी कारबाही हुनेछ ।”
कास्कीका तीन निर्वाचन क्षेत्रका लागि २ हजार १ सय ८३ कर्मचारी छनौट भइसकेको र उनीहरूलाई नियुक्तिका लागि बोलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तीन तहको सुरक्षा मिलाइएको जानकारी दिनु भयो ।
तालिममा मतदान प्रक्रिया, कानुनी पक्ष, मतदान केन्द्र निर्माण, कर्मचारी व्यवस्थापन, सुरक्षा समन्वय लगायत सम्पूर्ण कार्यशैलीबारे प्रशिक्षण दिइएको थियो ।
एक दिने अभिमुखिकरण तालिममा निर्वाचन अधिकृत सीता रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत शिव लम्साल, प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल र सूचना अधिकारी रूद्र न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।
मतदान अधिकृतले मतदान केन्द्रमा समयमै पुगेर कार्यतालिका पालन, मतदाता परिचयपत्रको व्यवस्थापन, मतदानको अनुगमन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु पर्नेछ ।

कास्कीमा एक महानगरपालिका र चार गाउँपालिकाका ७२ वडामा १ सय ५३ मतदानस्थल र ३ सय ६५ मतदान केन्द्र कायम गरिएको छ ।
कर्मचारीहरूका लागि कास्की जिल्ला समन्वय समिति र कारागारमा एक-एक अस्थायी मतदान केन्द्र कायम भएको छ ।
अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नं १ मा ६१ मतदानस्थल र १ सय ४० मतदान केन्द्र, क्षेत्र नं २ मा ३३ मतदानस्थल र ९७ मतदान केन्द्र तथा क्षेत्र नं ३ मा ५९ मतदानस्थल र १ सय २६ मतदान केन्द्र सञ्चालन हुनेछन् ।
प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कार्यरत हुनेछन् ।
मतदाताको सङ्ख्याको आधारमा मतदान अधिकृतले निर्वाचनको मतदान हुने दिनका लागि स्वयम्सेवक नियुक्त गर्न पाउने बताइएको छ ।
जिल्लामा प्रत्यक्षतर्फ ४४ जना पुरुष र पाँच जना महिला गरी कुल ४९ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।