मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नागरिकको अधिकारप्रति प्रहरी संवेदनशील छ : एसपी कार्की

पोखरा । पोखरामा क्रियाशील नागरिक समाजको प्रतिनिधि मण्डल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीबिच २०८२ कात्तिक १६ गते भएको छलफलमा मानवअधिकार, शान्ति, सुरक्षा र आगामी निर्वाचनको तयारी लगायतका समसामयिक विषयमा गम्भीर छलफल गरिएको छ ।

छलफलका क्रममा प्रहरी उपरीक्षक कार्कीले प्रहरी संस्था नागरिकको अभिभावक भएको बताउँदै नागरिकको अधिकार र मानवअधिकारका सवालमा प्रहरी सधैं संवेदनशील र सचेत रहेको धारणा व्यक्त गर्नु भयो ।

उहाँले नागरिक समाज, राजनीतिक दल र सञ्चारकर्मीहरू प्रहरीका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै सहि सूचना प्राप्त भएमा कुनै अपराधिले उन्मुक्ति नपाउने बताउनु भयो ।

उपरीक्षक कार्कीले पछिल्ला घटनाहरूको समीक्षा गर्दै आगजनी, लुटपाट तथा तोडफोडका घटनाका उजुरीलाई प्राथमिकताका साथ अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो ।

उहाँका अनुसार भदौ २४ गतेको घटनामा नागरिक संलग्नता नभई अपराधिक समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको र संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्य भइरहेको बताउनु भयो ।

छलफलमा नागरिक मञ्च गण्डकीका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले नागरिक समाजले द्वन्द्वकालदेखि नै मानवअधिकार, सामाजिक न्याय र सुशासनका पक्षमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउँदै हालको निराशाजनक परिस्थितिलाई आशामा रूपान्तरण गर्न राज्यका संयन्त्रहरू जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।

अधिकारकर्मी खगराज आचार्यले नेपाल प्रहरी दक्षिण एसियामा अपराध अनुसन्धानका क्षेत्रमा दक्ष र सक्षम फोर्सको रूपमा स्थापित भए पनि राजनीतिक हस्तक्षेपले संस्थागत क्षति पुर्‍याएको टिप्पणी गर्नु भयो ।

उहाँले जेनजी आन्दोलनका क्रममा प्रहरी बलमा परेको मनोबल ह्रासप्रति ध्यानाकर्षण गराउँदै प्रहरीका जवान र अधिकृतहरूका लागि अभिभावकको भूमिका आवश्यक रहेको बताउनु भयो ।

गैरसरकारी संस्था महासङ्घ नेपालका पूर्व अध्यक्ष रामप्रसाद सुबेदीले राजनीतिक प्रभाव अन्त्य गरी विधिको शासन र नागरिकको विश्वास कायम राख्ने खालको शान्ति–सुरक्षा सुनिश्चित गर्नुपर्ने सुझाव दिनु भयो ।

इन्सेक गण्डकीका संयोजक गणेश भण्डारीले फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा सुरक्षा तयारी र भदौ २४ गतेको घटनामा संलग्नलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

त्यस्तै, नागरिक मञ्चका सदस्यहरू कृष्ण केसी र खेमप्रसाद पौडेलले लुटपाटमा प्रयोग भएका हतियारहरूको खोजी र प्रहरीको आन्तरिक सुधारमार्फत सुशासन र जबाफदेहिताको प्रवर्धन गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, दलित महिला सङ्घ (फेडो) कास्कीकी कार्यक्रम संयोजक इश्वरी विक र मानवअधिकार एलायन्स कास्कीका अध्यक्ष मधु पन्थीले समेत ट्राफिक व्यवस्थापन, सवारी साधनको ध्वनि नियन्त्रण र आमनागरिकको सुरक्षामा प्रहरीको सक्रियता अझ बढाउनुपर्नेमा जोड दिनु भयो ।

छलफलमा सहभागीहरूले नागरिक समाज र प्रहरीबिचको सहकार्यले शान्ति सुरक्षा र मानवअधिकार प्रवर्धनमा ठूला उपलब्धि हासिल गर्न सकिने साझा निष्कर्ष निकालेका थिए ।

Author

Related News