मानव आवाज

२०८३ जेष्ठ ८ गते
00: 00: 00
२०८३ जेष्ठ ८ गते

पोखरा–भरतपुर उडान बन्द, नेपालगञ्जतर्फ स्थगित

पोखरा । बुद्ध एयरले पोखरा-भरतपुर उडान सेवा बन्द गरेको छ । यात्रुको अभाव र उच्च भाडादरका कारण पोखरा-नेपालगञ्ज उडान पनि एक महिनाका लागि स्थगित गरिएको छ।

बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले मानव आवाजलाई जानकारी दिँदै पोखरा-भरतपुर उडान एक महिनादेखि रोकिएको बताउनुभयो ।

उहाँका अनुसार पोखरा र भरतपुरबिच आवतजावत गर्ने यात्रुको सङ्ख्या अत्यन्त न्यून हुनु, इन्धनको मूल्यवृद्धिका कारण हवाई भाडा महङ्गिनु तथा पोखरा-मुग्लिन सडकखण्डको अवस्था सुधारिनु उडान बन्द हुनुका मुख्य कारण हुन् ।

उहाँले पोखरा-चितवन आउनेजाने समूह यात्रु भएमा आवश्यकता अनुसार उडान सञ्चालन गर्न सकिने बताउनुभयो ।

“पोखरा र भरतपुर दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरेर सेवा सञ्चालन गरिएको थियो । तर, अपेक्षाअनुसार प्रभावकारी हुन सकेन ।”-उहाँले भन्नुभयो ।

पोखरा र चितवनका पर्यटन तथा होटल व्यवसायीको विशेष आग्रहमा बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि पोखरा-भरतपुर उडान सुरु गरेको थियो ।

यस रुटमा बुद्ध एयरको जहाज कहिले भरतपुरबाट पोखरा त कहिले पोखराबाट भरतपुर उडान गर्ने गरेको थियो ।

त्यस्तै, यति एयरलाइन्सले पनि केही समय उक्त रुटमा सेवा सञ्चालन गरेको थियो । तर जहाज प्रायः खाली हुने गरेपछि उडान बन्द गरिएको यति एयरलाइन्स पोखराका स्टेशन सहायक म्यानेजर हर्कबहादुर राउतले जानकारी दिनुभयो ।

यसअघि मुग्लिन-नारायणगढ तथा आँबुखैरेनी-पोखरा सडक विस्तारका कारण यात्रा असहज हुँदा बुद्ध र यतिले पोखरा-भरतपुर उडान सञ्चालन गरेका थिए ।

तर, अहिले सडक विस्तार सम्पन्न भएसँगै अधिकांश यात्रु सडकमार्ग रोज्न थालेका छन् । हाल पोखराबाट भरतपुर निजी सवारीमार्फत करिब साढे दुई घण्टा तथा सार्वजनिक सवारीमार्फत करिब तीन घण्टामा पुग्न सकिन्छ।

Author

Share the News

Recent News

Related News