मानव आवाज

२०८३ असोज २५ गते
00: 00: 00
२०८३ असोज २५ गते

पोखरा पाँचकोट अल्ट्रा ट्रेल रेस सम्पन्न, प्रतिस्पर्धामा मनकुमार र कल्पना उत्कृष्ट

पोखरा । पोखराका पाँच ऐतिहासिक कोटलाई पर्यटनसँग जोड्दै खेल पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले आयोजित ‘पोखरा पाँचकोट ५० किलोमिटर अल्ट्रा ट्रेल रेस-२०८३’ सम्पन्न भएको छ । प्रतियोगिताको ५० किलोमिटर पुरुषतर्फ मनकुमार रोका मगर र महिलातर्फ कल्पना बुढाले उपाधि जित्नुभएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजना तथा नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर, विजयपुरको विशेष सहयोगमा आयोजित प्रतियोगिताको उद्घाटन तथा समापन समारोह २०८३ असोज २५ गते पोखरा महानगरपालिका-११, रानीपौवास्थित सैनिक आवासीय महाविद्यालय, फूलबारीमा सम्पन्न भएको हो ।

प्रतियोगिताको शुभारम्भ पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले पोखरा महानगरपालिका-२४ स्थित कास्कीकोटबाट बिहान ७ बजे गर्नुभएको थियो ।

कास्कीकोट, सराङकोट, भुप्राइकोट, अर्मलाकोट र काहुँकोट गरी पाँच ऐतिहासिक कोटको पहिचान र प्रवर्धन गर्दै तिनलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस्ता प्रतियोगिताले ऐतिहासिक सम्पदाको प्रचारप्रसार, खेल पर्यटनको विकास र स्थानीय आर्थिक गतिविधि विस्तार गर्नुका साथै पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका पूर्वअध्यक्ष तथा रेस डाइरेक्टर तेजबहादुर गुरुङका अनुसार प्रतियोगितामा विभिन्न दूरी र विधामा गरी कुल २४८ धावक सहभागी भएका थिए ।

गुरुङले प्रतियोगितालाई आगामी दिनमा नियमित क्यालेन्डरमा समावेश गरी निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतियोगितामा ५० किलोमिटरतर्फ पुरुषमा ६२ र महिलामा ११ गरी ७३ जना तथा १६ किलोमिटरतर्फ पुरुषमा १ सय ४७ र महिलामा १८ गरी १ सय ६५ जना सहभागी भएका थिए ।

५० किलोमिटर पुरुषतर्फ मनकुमार रोका मगरले ५ घण्टा २१ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो ।

तिलकबहादुर सुनार ५ घण्टा २२ मिनेट २७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने दलबहादुर कुँवर ५ घण्टा २९ मिनेट ३ सेकेन्डसहित तेस्रो हुनुभयो । रमेश लिम्बू चौथो र अर्जुन कुलुङ राई पाँचौँ स्थानमा रहनुभयो ।

त्यस्तै, ५० किलोमिटर महिलातर्फ जुम्लाकी कल्पना बुढा ७ घण्टा १७ मिनेट १९.८४५ सेकेन्डमा दौड पूरा गर्दै पहिलो हुनुभयो । खोटाङकी निर्मला राई ७ घण्टा २१ मिनेट ३३.९८८ सेकेन्डसहित दोस्रो र जुम्लाकी संदेवा बुढा ७ घण्टा २४ मिनेट २०.७७४ सेकेन्डसहित तेस्रो हुनुभयो । ओखलढुङ्गाकी कोपिला श्रेष्ठ चौथो र मकवानपुरकी निरूता कोइराला पाँचौँ हुनुभयो ।

१६ किलोमिटर महिलातर्फ खोटाङकी दिर्पा बस्नेतले १ घण्टा ३० मिनेट चार सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो ।

हेटौँडाकी विपना लामा १ घण्टा ३० मिनेट ३४ सेकेन्डसहित दोस्रो र खोटाङकी सन्जिला राई १ घण्टा ३५ मिनेट ६ सेकेन्डसहित तेस्रो हुनुभयो । तनहुँकी सरस्वती दुर्माकोटी चौथो स्थानमा रहनुभयो ।

१६ किलोमिटर पुरुषतर्फ धिरोजबहादुर बुढा १ घण्टा ६ मिनेट ५३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो हुनुभयो । श्रीकाश राई १ घण्टा ८ मिनेट ९ सेकेन्डसहित दोस्रो, निरोज भट्टराई १ घण्टा ८ मिनेट ६ सेकेन्डसहित तेस्रो र गोपाल तामाङ १ घण्टा ९ मिनेट ५२ सेकेन्डसहित चौथो हुनुभयो ।

५० किलोमिटर दौडका महिला तथा पुरुष विजेताले समान रूपमा पहिलो पुरस्कार १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ७५ हजार, चौथोले २५ हजार र पाँचौँले १५ हजार रुपियाँ नगदसहित पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

१६ किलोमिटर दौडमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपियाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

५० किलोमिटर दौड कास्कीकोट दरबारबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, बाटुलेचौर, भुप्राइकोट, महापुरुष डाँडा, अर्मलाकोट, कुरागाउँ र काहुँकोट हुँदै सैनिक आवासीय महाविद्यालय, फूलबारीमा पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगितामा सहभागी धावकहरूले दौडका क्रममा पोखराको प्राकृतिक सौन्दर्य, मनोरम हिमशृङ्खला र ग्रामीण परिवेशको अवलोकन गर्न पाएको अनुभव सुनाएका थिए ।

प्रतियोगिताले पोखराका ऐतिहासिक स्थललाई खेल पर्यटनसँग जोड्दै नयाँ पर्यटकीय सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा पोखरा महानगरपालिकाका जनप्रतिनिधि, खेलप्रेमी, उद्योगीव्यवसायी, पर्यटन व्यवसायी, स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा आमा समूहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार