पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजना तथा नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर, विजयपुरको विशेष सहयोगमा ‘पोखरा पाँचकोट ५० कि.मी. अल्ट्रा ट्रेल रेस-२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी असोज २५ गते पोखरा महानगरपालिका-२४ स्थित ऐतिहासिक कास्कीकोट दरबारबाट सुरु हुनेछ ।
प्रतियोगिताको ५० किलोमिटर दौड बिहान ७ बजे सुरु हुनेछ भने धावकहरूको रिपोर्टिङ बिहान ६ बजे हुनेछ। कास्कीकोटलाई केन्द्रबिन्दु बनाएर आयोजना गर्न लागिएको प्रतियोगिताले पोखराको प्रकृति, संस्कृति, इतिहास र साहसिक पर्यटनलाई प्रवर्धन गर्नुका साथै पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउन र दिगो पर्यटन विकासमा योगदान पुर्याउने आयोजकको विश्वास छ ।
असोज २० गते पश्चिम पृतना हेडक्वार्टर, पोखराको सभाकक्षमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रतियोगिताबारे जानकारी दिइएको हो ।
कार्यक्रममा पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले स्वागत मन्तव्यसहित प्रतियोगिताको उद्देश्य र तयारीबारे जानकारी दिनुभएको थियो ।
नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका पूर्वअध्यक्ष तेजबहादुर गुरुङका अनुसार आधुनिक नेपालको इतिहाससँग जोडिएको कास्कीकोट, सराङ्कोट, भुप्राइकोट, अर्मलाकोट र काहुँकोटलगायत पाँच ऐतिहासिक किल्लालाई समेटेर ट्रेल रेसको मार्ग तय गरिएको हो ।
करिब ५५० वर्ष पुरानो कास्कीकोट शाहवंशीय इतिहाससँग जोडिएको महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल भएकाले त्यसको पहिचान र महत्वलाई उजागर गर्ने उद्देश्यसमेत प्रतियोगिताको रहेको उहाँले बताउनुभयो ।

५० किलोमिटर अल्ट्रा ट्रेल रेस कास्कीकोट दरबारबाट सुरु भई सराङ्कोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, बाटुलेचौर, भुप्राइकोट, महापुरुष डाँडा, अर्मलाकोट, कुरागाउँ र काहुँकोट हुँदै पोखराको सैनिक आवासीय महाविद्यालय, फूलबारीमा पुगेर समाप्त हुनेछ । प्रतियोगितामा महिला र पुरुषतर्फ समान पुरस्कार राशि प्रदान गरिनेछ ।
त्यस्तै, १६ किलोमिटर ट्रेल रेस कास्कीकोटबाट सुरु भई सराङ्कोट, विन्ध्यवासिनी मन्दिर, सिम्पानी चोक, बगर ट्याक्सी चोक, पृथ्वीनारायण क्याम्पस र बालमन्दिर हुँदै फूलबारी ब्यारेकमा पुगेर सम्पन्न हुनेछ ।
५० किलोमिटर दौडको प्रथम हुने महिला तथा पुरुष धावकले जनही १ लाख ५० हजार रुपियाँ, द्वितीयले १ लाख रुपियाँ, तृतीयले ७५ हजार रुपियाँ, चौथोले २५ हजार रुपियाँ र पाँचौँले १५ हजार रुपियाँ नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
१६ किलोमिटर दौडमा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपियाँ प्राप्त गर्नेछन् । दौड पूरा गर्ने सबै धावकलाई फिनिसर्स मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
५० किलोमिटर दौडका लागि दर्ता शुल्क ७ सय रुपियाँ र १६ किलोमिटरका लागि ५ सय रुपियाँ तोकिएको छ ।
५० किलोमिटरतर्फको शुल्कमा टिसर्ट र टोपी तथा १६ किलोमिटरतर्फ टिसर्ट उपलब्ध गराइनेछ । दर्ताको अन्तिम मिति असोज २२ गते दिउँसो ४ बजेसम्म तोकिएको छ ।
प्रतियोगितामा सहभागी हुन १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । ५० किलोमिटर दौडमा सहभागी हुने धावकका लागि स्वास्थ्य परीक्षण गरी स्वास्थ्यकर्मीको सिफारिससमेत अनिवार्य गरिएको छ ।
दौडका क्रममा सहभागीले पोखराको प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीको अनुभव गर्न पाउने आयोजकले जनाएको छ ।
परम्परागत भेडीगोठ, भैँसीगोठ, विभिन्न प्रजातिका लालीगुराँस, २ सयभन्दा बढी प्रजातिका सुनाखरी, जडीबुटी तथा वन्यजन्तुको बासस्थानसमेत अवलोकन गर्न सकिने नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी, उद्योगी, खेलकुदसँग आबद्ध सङ्घसंस्थाका पदाधिकारी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।