मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेपालको दोस्रो कोटीहोम विराटज्ञान सम्पन्न

मधु पन्थी, पोखरा ।

पोखरामा ६१ दिन लामो श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ २०८२ जेठ ३१ गते विधिवत रूपमा सम्पन्न भएको छ ।

कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजका अनुसार कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी रहेको र करिब ९ करोड रुपियाँ सङ्कलन भएको छ ।

कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उहाँले बताउनु भयो ।

उहाँले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने बताउनु भयो ।

कोटीहोमका सह-संयोजक युवक लामिछानेले गणतन्त्रभित्र हिन्दू राज्य घोषणा गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले मामाघर अनाथ आश्रम बनाउनका लागि ५ लाख रुपियाँ, कोटीहोमका लागि १ लाख २५ हजार रुपियाँ सहयोग गर्ने घोषणा गर्नु भयो ।

कोटीहोममा आयोजित रक्तदानमा ९ सय ६ युनिट रगत सङ्कलन भएको छ । साथै कोटीहोममा हालसम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला भएको थियो ।

हवन कुण्डमा वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश, ७ बजेर १९ मिनेटमा अग्निमा समीधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी शुरु भएको थियो ।

कुण्डमा तीनतीन जना ब्राम्हणले हरेक दिन भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा १ सय ८ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राम्हणले पाठ गरेका थिए ।

व्यवस्थापक बिष्णु थापाका अनुसार कोटीहोममा भागवत मञ्जरी राधिका दासी, अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गर्नु भएको थियो ।

कोटीहोम पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा वैशाख १७ देखि जेठ ३१ गतेसम्म सञ्चालन भएको थियो ।

Author

Related News