मानव आवाज

२०८३ असोज १ गते
00: 00: 00
२०८३ असोज १ गते

पोखरा-दुबई सीधा उडान २०८३ असोज ७ देखि

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८३ असोज ७ गते (२०२६ सेप्टेम्बर २३) देखि फ्लाइदुबईले पोखरा-दुबई सीधा नियमित व्यावसायिक उडान सुरु गर्ने भएको छ ।

लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखराबाट पहिलोपटक नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेको हो ।

तय भएको तालिकाअनुसार असोज ७ गते साँझ सवा ६ बजे फ्लाइदुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । सोही दिन साँझ सवा ७ बजे यात्रु लिएर उक्त जहाज दुबईका लागि प्रस्थान गर्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा र गण्डकी प्रदेशबाट विदेश जाने यात्रुले लामो समयदेखि काठमाडौँ हुँदै यात्रा गर्नुपर्ने अवस्था थियो ।

पोखराबाट दुबई सीधा उडान सुरु भएपछि वैदेशिक रोजगारी, अध्ययन, पर्यटन तथा व्यापारका लागि विदेश जाने यात्रुलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि विमानस्थल आसपासको रिठेपानी डाँडा कटान तथा ल्यान्डफिल साइट स्थानान्तरणलगायतका विषय लामो समयदेखि चुनौतीका रूपमा रहेका थिए ।

पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट व्यवस्थापन तथा स्थानान्तरणलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको थियो ।

ल्यान्डफिल साइटका कारण उडान सुरक्षामा थ्रेट उत्पन्न भएपछि मेयर धनराज आचार्यले छोटो समयमै वैकल्पिक व्यवस्था गरी फोहोर स्थानान्तरण गराउनुभएको थियो ।

त्यसपछि पनि निरन्तर वैदेशिक हवाई कम्पनीहरूसँग संवाद, प्राविधिक टोलीको भ्रमण, कूटनीतिक पहल र नागरिक उड्डयन प्राधिकरणसँगको निरन्तर समन्वयका कारण नै आज पोखराबाट सीधा दुबई उडान सम्भव भएको हो ।

स्थानीय व्यवसायीहरूले यसलाई मेयर आचार्यको इच्छाशक्ति र विकासप्रतिको दूरदर्शिताको परिणाम भनेका छन् ।

विमानस्थल सञ्चालनसँग सम्बन्धित अन्य प्राविधिक तथा सुरक्षासम्बन्धी विषयमा पनि सम्बन्धित निकायबिच समन्वय हुँदै आएको थियो ।

पोखराबाट दुबई सीधा उडान सुरु भएपछि गण्डकी प्रदेशको पर्यटन, होटल तथा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

दुबई अन्तर्राष्ट्रिय हवाई सम्पर्कको महत्वपूर्ण ट्रान्जिट केन्द्र भएकाले पोखराबाट दुबई हुँदै विभिन्न मुलुकमा यात्रा गर्ने यात्रुलाई समेत सहज हुने बताइएको छ ।

लामो समयको प्रतीक्षापछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोगका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Author

सम्बन्धित समाचार