पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले बडादशैँ, नेपाल सम्वत्, तिहार र छठलगायतका चाडपर्वको अवसरमा २०८३ असोज २८ गते शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा वरिष्ठ उद्योगपति तथा पूर्वमन्त्री हरि पाण्डेले छात्राहरूको प्राविधिक शिक्षाका लागि ५ लाख रुपियाँको छात्रवृत्ति घोषणा गर्नुभएको छ ।
एसईईपछि तीनवर्षे डिप्लोमा तहमा भेटेरिनरी तथा कृषि विषय अध्ययन गर्ने छात्राहरूलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराइने उहाँले बताउनुभयो ।
सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फणिन्द्र देवकोटाले प्राकृतिक विपत्तिबाट गण्डकी प्रदेश पनि प्रभावित भएको उल्लेख गर्दै प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले आर्थिक सूचकाङ्कका आधारमा गण्डकी प्रदेशको अवस्था सन्तोषजनक रहेको पनि बताउनुभयो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रमेश घर्तीले स्थानीय प्रशासन निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने र शान्ति सुरक्षाको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पछिल्लो समय गण्डकी प्रदेशका आर्थिक गतिविधि सङ्कुचित हुँदै गएको उल्लेख गर्दै प्रदेशलाई अन्य प्रदेशभन्दा समृद्ध बनाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घकी अध्यक्ष शोभा गौतमले चाडपर्वको शुभकामना व्यक्त गर्दै उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले चाडपर्वका अवसरमा सम्भव भएसम्म छुटको व्यवस्था गर्न र भीडभाडका समयमा पसल तथा व्यवसायको सुरक्षामा ध्यान दिन पनि अनुरोध गर्नुभयो ।
“दशैँ खुसीको चाड हो । चाडपर्व ढुक्कसँग मनाउने वातावरण निर्माणका लागि प्रहरी प्रशासनले आवश्यक प्रवन्ध मिलाएको जानकारी आएको छ ।”-अध्यक्ष गौतमले भन्नुभयो-“कुनै समस्या परे सुरक्षा निकायसँग समन्वय गर्न म उद्योगी व्यवसायीलाई आग्रह गर्दछु ।”
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडपर्वले नेपाललाई प्राकृतिक विपत्तिबाट सिर्जित पीडाबाट बाहिर निस्कने शक्ति प्रदान गरोस् भन्ने कामना गर्नुभयो ।
सङ्घकी अध्यक्ष शोभा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेशचन्द बास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महासचिव सुदीप प्रधानाङ्गले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।