पोखरा । पोखरा एभेन्जर्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को तयारी अन्तर्गत ट्रफी टुर कार्यक्रमअन्तर्गत २०८२ कात्तिक ११ गते पोखरा रङ्गशालामा ट्रफी सार्वजनिक गरेको छ । ट्रफी सार्वजनिक कार्यक्रम पत्रकार सम्मेलनमार्फत सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कलाकार अमृत गुरुङले क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै, “सपना देखेपछि मात्र पूरा हुन्छ, त्यसैले सपना देख्नु नै सफलताको सुरुवात हो,” भन्नु भयो । उहाँले कुनै दिन नेपालले विश्वकप जित्ने विश्वास समेत व्यक्त गर्नु भयो ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टिमले यसपटक उपाधि जित्ने लक्ष्यसहित राम्रो पूर्वतयारी गरेको बताउनु भयो ।
उहाँका अनुसार टिममा गण्डकी प्रदेशका चार स्थानीय खेलाडी र विदेशी खेलाडी समेत समावेश गरिनेछ ।
एभेन्जर्स टिमले केही दिनमा भारतमा अभ्यास खेल खेल्ने तयारीमा रहेको पनि जानकारी दिनु भयो ।