पोखरा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का उम्मेदवार तिलक रानाभाटसँग मतदाताले मुख्यतः सिँचाइ सुविधा र उत्पादनको सहज बजार व्यवस्थापनको माग गरेका छन् ।
घरदैलो अभियानअन्तर्गत मादी गाउँपालिका मकै खोला क्षेत्रका बासिन्दासँगको भेटघाटमा स्थानीय कृषकहरूले उत्पादन गर्न पर्याप्त सिँचाइ नहुँदा समस्या भोग्नुपरेको बताएका छन् ।
उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन टाढा दूरी र महँगो ढुवानीका कारण उचित मूल्य नपाएको उनीहरूको गुनासो छ ।
स्थानीयले रानाभाटलाई सांसद पदमा विजयीको अग्रिम शुभकामना दिँदै भविष्यमा मन्त्री बनेर क्षेत्रको कृषि उत्पादनलाई बजारसम्म जोड्ने सहज सडक र पूर्वाधार निर्माणमा पहल गर्न आग्रह गरेका छन् ।
मतदाताको मागप्रति प्रतिक्रिया दिँदै उम्मेदवार रानाभाटले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्दै सिँचाइ, सडक तथा बजार पहुँच विस्तारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले कृषकको उत्पादनले उचित मूल्य पाउनुपर्नेमा जोड दिँदै योजनाबद्ध विकासको खाका लिएर आफू मतदाता समक्ष आएको बताए ।
यसैबीच, घरदैलो कार्यक्रममा बोल्दै पूर्व कानुनमन्त्री यज्ञबहादुर थापा ले नेपाली कांग्रेस अब जिम्मेवार र सुधारिएको ढङ्गले अगाडि बढिरहेको दाबी गरे ।
उनले अब झुटा आश्वासन बाँड्ने समय सकिएको उल्लेख गर्दै गर्न सकिने काम मात्र प्रतिबद्धताका रूपमा प्रस्तुत गरिएको बताए ।
त्यस्तै, नेपाली कांग्रेस पोखरा-२८ ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै विकल केसीको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन युवा परिचालन समिति गठन गरेको जनाएको छ ।
सह–संयोजकमा सन्तोष गौतम, नविन भण्डारी, अमरजङ्ग लामा, पूर्णबहादुर भुजेल, तिलक लामा, दीपक पौडेल, डोल्सन गुरुङ, पुष्प कँडेल, महेश्वर अधिकारी र निर्मल कार्की रहेका छन् । चुनावी परिचालनअन्तर्गत घरदैलो अभियानलाई तीव्र पारिएको बताइएको छ ।