काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व, सुशासन र समृद्धिका लागि हुन गइरहेको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न अपिल गर्नुभएको छ ।
उहाँले शान्तिपूर्ण चुनावी वातावरण, स्वच्छ प्रतिस्पर्धा र मतदाताको उत्साहपूर्ण सहभागिताबाट मात्र लोकतन्त्र फस्टाउने धारणा व्यक्त गर्नु भयो ।
राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उहाँले नेपाल निर्वाचन गराउने अभ्यासमा अनुभवी भइसकेको उल्लेख गर्दै विगतका चुनौतीपूर्ण अवस्थामासमेत मतदाताको सक्रिय सहभागितामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको स्मरण गर्नु भयो ।
उहाँकै नेतृत्वमा निर्वाचन आयोगले विसं २०७० मा संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो, जसबाट मुलुकले नयाँ संविधान प्राप्त गरेको थियो।
उप्रेतीले लोकतान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन निश्चित समयमै हुनुपर्ने बताउँदै बीचमै निर्वाचन गर्नुपर्ने अवस्था सकेसम्म आउन नदिनुपर्ने धारणा राख्नु भयो ।
उहाँका अनुसार राजनीतिक अस्थिरता र सरकारको कार्यसम्पादनमा कमजोरी आएपछि मध्यावधि निर्वाचन आवश्यक हुन सक्छ, तर दीर्घकालीन समाधान भने स्थायी सरकार र राजनीतिक स्थिरतामै निहित छ ।
“निर्वाचनको विकल्प खोज्न नपरोस् भन्ने हाम्रो चाहना हो ।”-उहाँले भन्नुभयो-“तर निर्वाचन आइसकेपछि त्यसलाई शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गराउनु सबैको कर्तव्य हो ।”
उहाँले निर्वाचनमा दर्शन र सिद्धान्तभन्दा पनि मतदाताको निर्णय नै अन्तिम हुने बताउँदै प्रत्येक मत अमूल्य रहेको उल्लेख गर्नु भयो ।
मतदान शुद्ध, सचेत र जिम्मेवार ढङ्गले हुनुपर्नेमा जोड दिँदै उहाँले मत खेर नफाल्न आम मतदातालाई आग्रह गर्नु भयो । उहाँका अनुसार “नेपाल र लोकतन्त्रले जित्नुपर्छ,” भलै सबै उम्मेदवार विजयी हुन सम्भव नहोस् ।
उप्रेतीले विगतमा छोटो अवधिमा बारम्बार सरकार परिवर्तन हुँदा विकास र सुशासनको अपेक्षा ओझेलमा परेको उल्लेख गर्दै यसपटक मतदाताको सामूहिक विवेकले स्थिर सरकार दिन सक्ने विश्वास व्यक्त गर्नु भयो ।
निर्वाचन खर्चिलो बन्दै गएको सन्दर्भमा उहाँले ज्ञान, अनुभव र नीतिगत प्रतिस्पर्धा भए निर्वाचन स्वच्छ र मितव्ययी बन्ने बताउनु भयो ।
जसरी पनि जित्ने मानसिकता त्याग्नुपर्ने र निर्वाचनलाई पेशा वा व्यवसायका रूपमा लिन नहुने उहाँको धारणा थियो ।
निर्वाचन खर्च तोकिएको सीमाभित्र राख्नुपर्ने, कागजी विवरणमा मात्र हिसाब मिलाउने प्रवृत्ति अन्त्य हुनुपर्ने र आचारसंहिता कडाइका साथ पालना गरिनुपर्नेमा उहाँले जोड दिनु भयो ।
प्रचारप्रसारका क्रममा आरोप–प्रत्यारोप, द्वेष र घृणा फैलाउने गतिविधि नगर्न आग्रह गर्दै आफ्ना सकारात्मक कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्न सुझाव दिनु भयो ।
उप्रेतीका अनुसार सरकारले निर्वाचन प्रक्रियाका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउनुका साथै सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्छ ।
मतदान, मतपेटिका ढुवानी, मतगणना र विजय जुलुससम्मको सम्पूर्ण प्रक्रियामा सुरक्षा संवेदनशीलता अपनाउनुपर्ने उहाँले बताउनु भयो ।
प्रविधिको बढ्दो प्रयोगका कारण सामाजिक सञ्जालमार्फत हुने प्रचारप्रसारमा विशेष सजगता अपनाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनु भयो ।
निर्वाचन प्रचारप्रसारको अन्तिम चरणमा तोकिने मौन अवधिलाई उहाँले अत्यन्त महत्वपूर्ण मान्नु भयो ।
मतदाताले शान्त वातावरणमा सोचविचार गरी निर्णय लिन सकून् भन्ने उद्देश्यले मौन अवधि राखिएको स्पष्ट पार्दै त्यस अवधिमा आचारसंहिताविपरीत कुनै गतिविधि नगर्न राजनितक दललाई आग्रह गर्दै आचारसंहिता पालनामा आयोग र सरकारको ध्यानाकर्षण गराउनु भयो ।
पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले लोकतन्त्र जोगाउने जिम्मेवारी मतदाता, राजनीतिक दल र उम्मेदवार सबैको भएको उल्लेख गर्दै विचार र विवेकका आधारमा असल प्रतिनिधि छनोट गर्न आग्रह गर्नु भयो ।
“मतदान भनेको देशको भविष्यका लागि गरिने अमूल्य दान हो ।”-उहाँले भन्नुभयो-“यसमा कोही पनि छुट्नु हुँदैन ।”
उप्रेतीको भनाइले आसन्न निर्वाचनलाई केवल प्रक्रियागत अभ्यास नभई लोकतन्त्र सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने सन्देश दिएको छ ।