पोखरा । पोखरा महानगरपालिका-१७ वरकोबोटस्थित अस्थायी प्रहरी डिजिटल चेकपोस्टमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै यात्रुहरूको सुरक्षा, सहजीकरण तथा यात्रालाई व्यवस्थित बनाउने उद्देश्यले सिद्धार्थ राजमार्गअन्तर्गत उक्त स्थानमा २०८३ असोज २१ गतेदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले एक कार्यक्रमबीच सहायता कक्षको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक शर्माले चाडपर्वका समयमा आवतजावत गर्ने यात्रुहरूको सुरक्षा तथा यात्रालाई सहज र व्यवस्थित बनाउन सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा छोरेपाटन प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गौतम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै सहायता कक्षको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका-१७ र २२ का जनप्रतिनिधि, स्थानीय नागरिक, समाजसेवी, नागरिक अगुवा तथा सामाजिक अभियन्तालगायतको उपस्थिति रहेको थियो ।