लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माले हालै सार्वजनिक गर्नु भएको गीत ‘झोले त तै, झोले त मै’ ले पुनः राजनीतिक चर्चाको केन्द्र तानेको छ।
यस गीतले सिधै सत्तारूढ दल नेकपा एमाले र त्यसका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेको संकेत दिइएको छ। केही समयअघि एमालेले चलाएको ‘झोले अभियान’ र ओलीले सामाजिक सञ्जालमा लेखेको ‘म झोले हो’ भन्ने सन्दर्भलाई समात्दै शर्माले गीतमार्फत व्यङ्ग्य प्रस्तुत गर्नु भएको छ ।
तर गायक शर्मा ओलीमात्रमा सीमित हुनुहुन्न । उनले सोही गीतमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रवि लामिछानेजस्ता अन्य शीर्ष नेताहरूमाथि पनि समान व्यङ्ग्य प्रहार गर्नु भएको छ ।
गीतको पंक्ति – ‘केपी नि सही, देउवा नि सही, प्रचण्ड सही, रवि नि सही, खराब त तै, खराब त मै’ – मार्फत उनले सत्ताको नेतृत्व गर्ने सबैलाई ‘सही’ ठहर गरेर आम नागरिकलाई ‘गलत’ बनाइने प्रवृत्तिमाथि टिप्पणी गर्नु भएको छ ।
यसअघि शर्माले २०७५ सालमा सार्वजनिक गरेको गीत ‘लुट्न सके लुट कान्छा’ पनि निकै चर्चित बनेको थियो, जुन गीत नेकपा (एमाले) नेतृत्वले खुलेर विरोध गरेपछि युट्युबबाट हटाउनु परेको थियो।
शर्माका यी व्यङ्ग्यात्मक गीतहरूले उनी केवल कलाकार नभई सचेत सर्जकको भूमिकामा पनि देखिने प्रमाणित गर्दै आएका छन्। ‘झोले’ गीतले फेरि एकपटक राजनीतिमा व्यङ्ग्यको स्वाद थपेको छ।