ललितपुर । मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त विश्वकै सबैभन्दा ठूलो पत्रकारिता तथा मिडिया विकास संस्थाहरूको अन्तर्राष्ट्रिय नेटवर्क ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (GFMD) को सञ्चालक समितिमा निर्वाचित हुनु भएको छ ।
पन्त यस समितिमा निर्वाचित हुने पहिलो नेपाली सदस्य हुनुहुन्छ । २०८२ असार ३२ गते बुधवार सम्पन्न साधारणसभाबाट भएको निर्वाचनमा पन्तसहित १७ जना नयाँ सदस्यहरू चार वर्षका लागि निर्वाचित भएका हुन्।
यसपटकको निर्वाचनमा ५४ जनाले उम्मेदवारी दिएका थिए, जुन अघिल्लो निर्वाचनको तुलनामा दोब्बर हो।
जुन १२ देखि जुलाई १४ सम्म अनलाइनमार्फत सञ्चालन गरिएको निर्वाचनमा २ सय १५ जना साधारण सदस्यहरूमध्ये ७६ प्रतिशतले मतदान गरेका थिए।
निर्वाचनपछि पन्तले भन्नु भएको छ-“मिडिया एक्सन नेपालको प्रतिनिधिका रुपमा मात्र नभई, एशियाली मिडिया समुदायको आवाजलाई मिडिया विकास, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको दिशा तय गर्ने संस्थाहरूसँगको विश्व सम्वादमा पुर्याउन पाउनु मेरा लागि ठूलो सम्मान हो।”
पन्तले GFMD मा एशिया, प्यासिफिक र ओसिनिया क्षेत्रको प्रतिनिधित्व गर्नु हुनेछ । उहाँको नेतृत्वमा मिडिया एक्सन नेपालले अनुसन्धान, क्षमता अभिवृद्धि, मिडिया अधिकारको अनुगमन तथा पैरवीमार्फत स्वतन्त्र र जबाफदेही पत्रकारिताको संरक्षण गर्दै आएको छ।
पन्त यसअघि सन् २०२२ देखि २०२४ सम्म मिडिया फ्रीडम कोलिसनको कन्सलटेटिभ नेटवर्कमा निर्वाचित सह-अध्यक्षको भूमिकामा रही ५१ राष्ट्र, १ सय ५० भन्दा बढी नागरिक संस्था र युनेस्कोसँग सहकार्यलाई सुदृढ बनाउन सक्रिय रहनु भयो ।
उहाँले हाल जर्जियास्थित टिबिलिसी स्टेट युनिभर्सिटीमा प्राध्यापन गर्दै आउनु भएको छ र प्रेस स्वतन्त्रता, मिडिया विकास तथा सूचना अखण्डतासम्बन्धी नीति सम्वादमा अग्रणी भूमिका खेल्दै आउनु भएको छ ।
GFMD को नव-निर्वाचित सञ्चालक समितिको कार्यकाल नोभेम्बर २०, २०२५ मा मलेसियाको क्वालालम्पुरमा हुने पहिलो बैठकबाट सुरु हुनेछ। यो बैठकबाट समितिले नयाँ अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ।
पन्तसँगै समितिमा निर्वाचित अन्य प्रमुख सदस्यहरूमा केन्याकी पत्रकार तथा मिडिया अधिकारकर्मी क्याथरिन गिचेरू, नामिबियाकी जोइ टाइटस, युक्रेनकी लिना कुशच, अमेरिकी सञ्चार विज्ञ कोर्टनी राड्सच, क्यानडाका टोबी मेन्डेल, बेलायती संस्था आर्टिकल १९ की क्विन म्याक्यूलग, स्वीट्जरल्यान्डकी क्यारोलिन वुइलेमिन लगायत हुनुहुन्छ ।
यो निर्वाचनसँगै नेपाल तथा दक्षिण एशियाको मिडिया विकास, प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थिति मिल्ने विश्वास गरिएको छ।