मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मिडिया अधिकारकर्मी पन्त ग्लोबल फोरम फर मिडिया डेभलपमेन्टको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ । नेपालका वरिष्ठ मिडिया अधिकारकर्मी लक्ष्मणदत्त पन्त ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (GFMD) को उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

मलेसियाको क्वालालम्पुरमा चलिरहेको ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फरेन्स (GIJC) का क्रममा बसेको GFMD स्टीयरिङ कमिटीको पहिलो बैठकले पन्तलाई आगामी चार वर्षका लागि उपाध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षका रूपमा पन्तले नवनिर्वाचित अध्यक्ष रावान दामेन, कोषाध्यक्ष क्यारोलिन व्युलेमिन, तथा स्टीयरिङ कमिटीका अन्य सदस्यहरूसँग सहकार्य गर्दै मिडिया विकास, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र सूचना विश्वसनीयतामाथि बढ्दै गइरहेका चुनौतीबिच वैश्विक मिडिया समुदाय सुदृढ बनाउन योगदान दिने बताउनु भएको छ ।

पन्त विश्वकै सबैभन्दा ठूलो मिडिया विकास संस्थाहरूको सञ्जाल GFMD को नेतृत्व तहमा प्रवेश गर्ने पहिलो नेपाली बन्नु भएको छ ।

उपाध्यक्षमा निर्वाचित भएपछि उहाँले कमिटीको पहिलो औपचारिक बैठकको अध्यक्षता समेत गर्नु भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै पन्तले स्थानीयदेखि विश्वव्यापी सहभागितालाई प्रतिबिम्बित गर्ने संस्था र विज्ञहरूसँग मिलेर कठिन परिस्थिति र बढ्दो जोखिमबिच पनि मिडिया समुदायलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नवनिर्वाचित अध्यक्ष रावान दामेन भने अनलाइनमार्फत बैठकमा सहभागी हुनुभएको थियो ।

वैश्विक मञ्चमा परिचित मिडिया अधिकारकर्मी तथा सञ्चारविद् पन्तसँग पत्रकारिता, प्रेस स्वतन्त्रता प्रवर्धन, अनुसन्धान, नीतिगत संलग्नता र परियोजना व्यवस्थापनमा दुई दशकभन्दा बढीको अनुभव छ ।

उहाँले २०१५ मा ‘मिडिया एक्सन नेपाल’ स्थापना गर्नु भएको थियो, जसले नेपालको मिडिया अधिकार र प्रेस स्वतन्त्रता प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

Author

Related News